देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अत्याधुनिक प्रेस थन्काएर ५० करोडको छपाइ अन्तै

0

काठमाडौँ – निर्वाचन आयोगले मतपत्रसमेत छाप्न किनिएको अत्याधुनिक छपाइ मेसिन थन्क्याएर मतदाता नामावलीसमेत छाप्न टेन्डर आह्वान गरेको छ । छपाइ सामग्रीका लागि ५० करोड बजेट छुट्याएको आयोगले धमाधम टेन्डर आह्वान गरिरहेको छ, २१ करोडमा खरिद गरिएका मेसिन भने छाप्रोभित्र राखिएको छ ।

आयोगले २०७४ मंसिरमा ओम्नी समूहसँग बिनाप्रतिस्पर्धा दुई मेसिन खरिद गरेको थियो । १० करोड ५५ लाख ४० हजार लगानीको ‘हाई स्पिड डिजिटल कलर प्रिन्टिङ मेसिन’ र ११ करोड २८ लाख लगानीको ‘छाड स्प्रिङ डिजिटल मोनोक्रोम मेसिन’ अहिले थन्क्याएर राखिएको छ । मेसिन किनेको वर्ष राष्ट्रिय सभाको मतपत्र, राष्ट्रपति निर्वाचनको सामग्री, वार्षिक प्रतिवेदन, मत परिणाम पुस्तक, स्रोत पुस्तिका छापिएको थियो । त्यसयता उक्त मेसिन सञ्चालनमै छैन ।

राज्य कोषको २१ करोड खर्चेर किनिएको मेसिनबाट मतपत्र त परै जाओस्, मतदाता नामावली पनि नछाप्ने नीति आयोगले लिएको छ । मतदाता नामावली, परिचयपत्र, आचारसंहिता, मतदाता शिक्षासम्बन्धी सामग्री, निर्देशिका छपाउन आयोगले बिहीबार मात्रै १२ करोड रुपैयाँको बोलपत्र आह्वान गरेको छ । अन्य सामग्री छपाइको टेन्डर आयोगले यसअघि नै गरिसकेको छ । मतपत्रको छपाइको काम जनक शिक्षा सामग्री केन्द्रले पाउने भए पनि आयोगले अन्य सामग्री छाप्न निजी प्रेसलाई ठेक्कामा दिने भएको छ ।

मेसिन खरिदपछि सञ्चालनका लागि केही कर्मचारीलाई तालिम दिइएको थियो । ती कर्मचारीकै सरुवा भएपछि मेसिन नचलेको आयोगले जनाएको छ । आयोगका कर्मचारी सरुवा भएको भन्ने बहानामा महँगो मेसिन थन्क्याएर निजीलाई ठेक्का दिन आयोग अग्रसर भएको छ । ‘नियमित प्रयोगमा नआई मेसिन बिग्रियो । अहिले सञ्चालनमा छैन । दक्ष जनशक्ति र थप स्रोतसाधनको व्यवस्थापन भएपछि मात्रै मेसिन सञ्चालन ल्याउन सकिन्छ,’ प्रवक्ता शालिग्राम पौडेलको भनाइ छ ।

आयोग परिसरमै रहेको सशस्त्र प्रहरी बलको ब्यारेकसँगैको अस्थायी छाप्रोमा मेसिन राखिएका छन् । एक कर्मचारीका अनुसार मेसिनको तार मुसाले काटेर काम नलाग्ने भएको छ । ‘मेसिनमा धूलैधूलो थियो । केही दिनअघि सफा गरेर राखेका छौं । आयोगलाई चुनावका बेला मात्रै छपाइको चाप हुने भएकाले अन्य समयमा रेखदेख भएन । त्यसैले बिग्रियो ।’

राज्यकोषबाट किनिएको प्रेस सञ्चालन नगरिएकामा महालेखा परीक्षकको कार्यालयले २०७५ देखि हरेक वर्ष प्रश्न उठाउँदै आएको छ । आयोगले उपनिर्वाचनमा प्रयोग गर्ने जवाफ दिएको थियो । तर २०७६ मा भएको उपनिर्वाचनमा पनि प्रेस प्रयोगविहीन रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

मेसिनलाई प्रयोगमा ल्याउन महालेखा परीक्षक कार्यालयले दिएको सुझावलाई बेवास्ता गर्दै आयोगले आगामी निर्वाचनहरूमा प्रयोगमा ल्याउन चाहेको छैन । मेसिन खरिद गर्दा कमिसन खाने र त्यसलाई थन्क्याएर राखी बाहिर ठेक्का दिँदा पनि कमिसन खाने नीति देखिएको महालेखाका एक अधिकारीको भनाइ छ । मेसिन खरिद गर्दा आयोगको आवश्यकता पहिचानसमेत नगरिएको टिप्पणी महालेखाले आफ्नो प्रतिवेदनमा नै गरेको छ । २०७८ को प्रतिवेदनमा भनिएको छ, ‘आवश्यकता पहिचान गरी खरिद गर्नुपर्ने व्यवस्था सार्वजनिक खरिद नियमावलीमा छ । मेसिनको उपयोगिताका लागि प्रयोग हुने कागज एवं जनशक्तिको व्यवस्थापन गरी मेसिन प्रयोगमा ल्याउनुपर्छ ।’

मतपत्र, मतदाता परिचयपत्र र निर्वाचनको सम्पूर्ण सामग्री आयोग परिसरमै छपाइ गर्न ती मेसिन खरिद गरिएको बताउँछन् तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव । आयोगको नियमित काम बाहिरका प्रेसमा छाप्दा राज्यको खर्च बढेकाले त्यतिबेला आफ्नै प्रेसका लागि लगानी गरिएको उनको भनाइ छ ।

‘मैले त सही मनसायले आयोगको सम्पत्ति जोडेको हो । चलाउन नसक्नु मेरो कमजोरी होइन । व्यवस्थापन गर्न नसकेपछि के भन्नु र !’ उनले भने, ‘नेपालमा सामान किनेपछि प्रयोग हुँदैन ।’

यसअघि आयोगमा भएका १३ थान प्रिन्टर पनि मर्मत गरी सञ्चालन गर्न बाधा परेको कारण देखाई २०७४ मंसिरमा बढी क्षमताको रंगीन प्रिन्टर (छपाइ मेसिन) प्रतिस्पर्धाबेगर सिधै खरिद गरिएको थियो । प्रतिस्पर्धाबिना ती सामग्री खरिद गरेको भन्दै संसद्को लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरेका थिए । तर समितिले प्रतिस्पर्धाबिनै खरिद गर्ने पदाधिकारीलाई सफाइ दिइसकेको छ । समितिले उनीहरूलाई सचेत मात्रै गराउन निर्देशन दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘सम्बन्धित पदाधिकारीलाई समेत सचेत गराई आगामी दिनमा प्रतिस्पर्धा सुनिश्चित हुने गरी खरिद गर्ने व्यवस्था मिलाउन र खरिद गरेका मेसिन उपयोगमा ल्याई मतपत्र छपाइ मितव्ययी बनाउन समिति निर्देशन दिन्छ ।’

अख्तियारले मेसिन खरिदका विषयमा छानबिन भइरहेको जनाएको छ । ‘अख्तियारले सोधेको प्रश्नको जवाफ दिइरहेका छौं,’ आयोगका एक कर्मचारीले भने । यसरी खरिदका विषयमा उठेको प्रश्न अनुत्तरित रहँदै मेसिन भने प्रयोगविहीन भएको छ, छपाइको भार राज्यलाई थपिँदै गएको छ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार