देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनुचित व्यापारिक कारोवार गर्नेमा खाद्य पसल बढी

0

(काठमाडौं) – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डेढ महिनाको अवधिमा ७० फर्मलाई जरिवाना गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको पाइएपछि ती व्यापारिक फर्मलाई जरिवाना गरेको विभागले जनाएको छ ।

गत चैत १ गतेदेखि यही बैशाख १८ गतेसम्म गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेको विभागले जनाएको छ । कारवाही स्वरुप जरिवाना गरिएका फर्ममध्ये ९ वटा सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३ वटा खाद्य पसल १४ लाख २५ हजार, पाँच औषधि पसलबाट पाँच लाख ५० हजार रुपैयाँ जरिवाना असूल भएको विभागले जनाएको छ ।

यस्तै, ६ वटा खाद्यान्न र ग्यास पसलबाट चार लाख ५५ हजार, पाँच ग्यास पसलबाट ५५ हजार, ६ मासु पसलबाट सात लाख, पाँच शृङ्गार पसलबाट चार लाख १५ हजार, दुई मार्टबाट सात लाख र अन्य पसलबाट ७० लाख ६५ हजार राजश्व संकलन गरिएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल छन् । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्री वितरण गर्ने, मूल्यसूची नराख्ने लगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गर्दै आएको छ ।

विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार