देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब बैंकको कर्जा र बचतमा ब्याजदर बढ्ने

0

काठमाडौं – बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर बढ्ने भएको हो ।

राष्ट्र बैंकले मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेपछि बचतकर्ताको ब्याज पनि बढ्ने भएको छ ।बचतको ब्याज थोरै बढ्दा बैंकको आधार दर पनि माथि उक्लिनेछ । यो व्यवस्थाका कारण अहिलेभन्दा आधादेखि एक प्रतिशत बिन्दुले आधार दर बढ्नेछ । आधार दर बढेपछि ऋणको ब्याज पनि बढ्ने जनाइएको छ ।

मौद्रिक समीक्षाले कलनिक्षेपबाहेकका ब्याज प्रदान गरिने खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक पर्न नपाइने व्यवस्था गरेको छ । समीक्षामार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने उल्लेख छ ।

बैंकहरूले मुद्दती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्थामा साधारण बचतमा भने थोरै मात्रै ब्याजदर प्रदान गर्दै आएकामा अबउप्रान्त मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने भएको छ । बैंकले अबउप्रान्त मुद्दतीमा १० प्रतिशत ब्याज दिन्छ भने अन्य बचतमा ५ प्रतिशत ब्याज दिनैपर्ने हुन्छ । अधिक तरलता भएपछि बैंकहरूले बचतको ब्याज ह्वात्तै घटाएका थिए । साढे ६ प्रतिशतको बचतको ब्याज ८ वटा बैंकले डेढ प्रतिशतसम्म झारेका थिए । अधिकांश बैंकको बचतको न्यूनतम ब्याज २ प्रतिशत छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार