देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘अराजक’ अर्थमन्त्रीले आफ्नो गल्ति ढाकछोप गर्न गभर्नरमाथि कारबाही गरे – एमाले

0

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई ‘अराजक’ को संज्ञा दिएको छ ।

आइतबार एमालेका पुर्व अर्थमन्त्रीहरु सम्मिलित कार्यक्रममा उनका कमिकमजोरी ढाकछोप गर्न गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको आरोप एमालेले लगाएको हो।

एमालेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी ‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरमाथि गलत निर्णय लिएको’ दाबी गरेका छन्।

‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ तीनैजना पूर्वअर्थमन्त्रीद्वारा जारी विज्ञप्तिमा छ।

एमाले सरकारका पूर्वअर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले लिएका नीतिले गर्दा ९ महिनाको अवधिमा नै मुलुकको अर्थव्यवस्था जोखिमोन्मुख भएको बताए। उनले अर्थतन्त्रमा सार्थक हस्तक्षेप नभए श्रीलंकाजस्तै हुनबाट कसैले पनि रोक्न नसक्ने बताए।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा राजनीतिकभन्दा आर्थिक संकट आउने बताए। ‘श्रीलंकामा अर्थमन्त्री भाग्दैछन अरे,’ पाण्डेले भने, ‘कतै, नेपालमा त्यस्तो दिन आउने त होइन ?’ पाण्डेले विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि नै अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गर्दै आयातमा कडाइ गरेको बताए।

अर्का पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कांग्रेस, माओवादी गठबन्धन सरकार आएपछि नै आर्थिक चलखेल सुरु भएको बताए। यस सरकारका मन्त्रीहरूको विवादास्पद अभिव्यक्ति दिने, कमाउधन्दामा लिप्त हुने, स्वार्थ नमिले कर्मचारीमाथि जाइलाग्ने, ठेक्कापट्टामा सेटिङ गर्ने र सरकारी निकायहरूबीच सामान्य समन्वय पनि नगर्ने हर्कतका कारण समेतले अर्थतन्त्र संकटको मोडमा पुगेको उनको भनाई थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार