देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अलपत्र पुलको आगामी कार्ययोजना १५ दिन भित्र बुझाउन सरकारलाई निर्देशन

0

(काठमाडाैं) – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुल निर्माण गर्दा डिजाइन एण्ड बिल्ड प्रविधिबाट अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । मुलुकभर निर्माणधीन अवस्थामा रहेका पुलहरुको डिजाइनमा समस्या देखिएको भन्दै आगामी दिनमा पुल निर्माण गर्दा डिजाइन एण्ड बिल्ड प्रविधिबाट अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

सिंहदरवारमा आज बसेको समितिको बैठकले निर्माणको प्रक्रियामा रहेका र बजेट अभावमा अलपत्र परेका पुलको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा सम्पन्न गर्न तथा प्राथमिकताका आधारमा निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

मुलुकभर निर्माणाधीन अवस्थामा रहेका पुलको डिजाइनमा देखिएको समस्या, निर्माण व्यवसायीका कारण अलपत्र परेका र विभिन्न कारणले निर्माण हुन नसकेका पुलको विस्तृत विवरण तयारी गर्न मन्त्रालयलाई भनेको छ । ती पुलहरुको निर्माणमा देखिएको समस्या समाधानका लागि आगामी कार्ययाजना तयार गरी १५ दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले जानकारी दिईन ।

रणनीतिक सडक अन्तर्गत रहेका पुराना पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माणको प्रक्रिया सुरु गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको हो । रणनीतिक सडकका पुल लगायत अन्य पुलहरुको सम्बन्धमा समितिले आज मन्त्री, सचिव लगायत मन्त्रालयका अन्य पदाधिकारीसँग छलफल गरेको थियो ।

सडक विभागको तथ्याङ्क अनुसार मुलुकभर २०९१ वटा पुलका योजना रहेका छन् सरकारको कार्यक्रममा रहेका छन् । त्यसमध्ये डिजाइन प्रकृयामा ४ सय २९ वटा पुल रहेका छन्। ६७ वटा पुलको डिजाइन सम्पन्न भएको छ भने १०३ वटा पुल डिजाइन सम्पन्न हुने क्रममा रहेका छन् । त्यस्तै, समान्य रूपमा निर्माणधीन साना-ठूला पुल ८९५ वटा रहेका छन्। जसमध्ये सरकारी पक्षबाट पुरा गर्नुपर्ने गरी समस्यामा परेका पुल ३७ वटा रहेका छन् । ती पुलको डिजाइनमा समस्या रहेको छ ।

निर्माण व्यववसायीका कारण समस्यमा रहेका पुलको संख्या ९६ रहेको छ । ५१ वटा पुल भने काबु बाहिर रहेको मन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्षयता निर्माण सम्पन्न भएका पुलको संख्या ४२५ रहेको छ । जसमध्ये १४३ वटा स्थानीय तहमा छन् भने ६४ वटा रणनीतिक सडकका पुल छन् । त्यस्तै ८५ वटा हुलाकी राजमार्ग, ६० वटा मदन भण्डारी राजमार्ग र ७३ वटा मध्यपहाडी राजमार्गमा पुल निर्माण भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार