देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अस्ट्रेलियाका वाटमोर राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

0

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो ।

वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन् । क्यानले एक विज्ञप्ति जारी गर्दै खुला प्रतिस्पर्धाबाट ६६ वर्षीय वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्ति गरिएको उल्लेख गरेको हो । क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो ।

वाटमोर सहित भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर (सुनील) लामा लगायतले अन्तर्वार्ता दिएका थिए ।

श्रीलंकामा जन्मिएका उनी सन् १९७९ देखि एक वर्ष अस्ट्रेलियन राष्ट्रिय टिमका सदस्य थिए । उनले ७ वटा टेष्ट र एउटा वान डे मा अस्ट्रेलियाको राष्ट्रिय जर्सी लगाएका थिए । वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो ।

पछिल्लो समय सन् २०१४ देखि २ वर्ष जिम्बावेको राष्ट्रिय टिम सम्हालेका थिए । उनी बंगलादेश र पाकिस्तान जस्ता क्रिकेटका हस्ती राष्ट्रका राष्ट्रिय टिमको प्रशिक्षक समेत रहिसकेका छन् । सन् १९८९ मा उनले क्रिकेट खेलाडीका रुपमा सन्यास लिँदै प्रशिक्षकका रुपमा करिअर सुरुवात गरेका थिए ।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए । त्यसपछि उनी भारतको यू १९ टिमको प्रशिक्षक रहे । वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक नियुक्त भएका थिए ।

सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी(२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो । त्यसपछि उनी भारत फर्किए । भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए । पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने ।

क्यानले राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ । यस्तै रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक र रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको पनि संघले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार