देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू सनाखतका लागी गएनन्

0

काठमाडौं – आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसद सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा गएनन् । आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका भनिएका सांसदहरू सनाखतका लागि नगएका हुन् ।

मुख्यमन्त्रीका लागि कांग्रेस सांसद केदार कार्की र सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न थालेका हुन् ।

माओवादी केन्द्रका एक सांसदका अनुसार, कांग्रेसका ८ सांसद केदार कार्कीको पक्षमा हस्ताक्षर गर्न प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएपछि आङ्बो पक्ष सनाखतको लागि नगएकाे हाे ।

कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उक्त दाबी अनुसार कार्की पक्षका सांसद प्रदेश प्रमुखको कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ ।

आङ्बोले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबिच सहमतिको प्रयास भइरहेको कारण तत्काल सनाखतमा नजाने बताए । ‘काँग्रेसका ८ जना माननीयहरू सशरीर उपस्थिति भइसकेपछि हाम्रो दाबी पुग्दैन, अर्को कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जान्दैनौँ,’ उनले भने ।

कोशीमा कांग्रेससहितकाे गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई चुनेपछि कांग्रेस संस्थापनइतर नेता शेखर काेइराला पक्षका केदार कार्कीले एमालेसँग मिलेर कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदकाे हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार