देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइँदै

0

काठमाडौं – यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन  बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ । इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार