देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बडादशैं सुरु : आज घटस्थापना, घरघरमा जमरा राखिँदै

0

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दशैं आज (शनिबार) बाट सुरु भएको छ ।

बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि काठमाडौंको वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।

आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घर सफा गरेर गाईको गोबरले लिपपोत गरी शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ ।

घटस्थापनाको दिन विशेष विधि सँगै जौ, गहुँ र मकैलाइ माटोमा छरिन्छ र टीकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै एकरएक तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजाआराधना गरी नजिकको शिवलिंगलाई अघ्र्य दिने गर्छन् ।

राजधानीमा श्रद्धालुहरू पाटनको शंखमूलस्थित शंकर तीर्थमा स्नान गरेर महालक्ष्मी (चामुण्डादेवी) को पूजाअर्चना गर्छन् । विजया दशमीका दिन गुहयेश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुहेश्वरीमाईको पूजाआराधना गर्दै समापन गर्छन् ।

परम्परा अनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्ति स्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ ।

आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार