देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज य:मरि पुन्ही, नेवार समुदायमा हर्सोल्लासका साथ मनाईंदै

0

(काठमाडौं) – आज य:मरि पुन्ही । काठमाडौं उपत्यकाका नेवार समुदायमा हर्सोल्लासका साथ य:मरि पुन्ही मनाईंदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ ।

नेवार समुदायले यो दिनलाई थिन्ला पुन्ही वा य:मरि पुन्हीका नामले मनाउने गर्छन् । धान्य पूर्णिमा र य:मरि पुन्ही पर्वका दिन पृथ्वीमाताले दिएको धान प्रति खुसी व्यक्त गर्दै पृथ्वीको पूजा पनि गरिन्छ । तिहारमा देउसी र भैलो खेल जस्तै टोलभर गाउँदै य:मरि माग्ने चलन नेवार समुदायमा छ ।

सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर य:मरि मागिन्छ । इष्टमित्र, साथीभाई, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान प्रदानको रुपमा पनि लिने गरिएको छ ।

य:मरि एक विशेष प्रकारको रोटी हो । य:मरि पुन्हीका दिन गृहणलीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी य:मरि बनाउने चलन रहेको छ । यो अवसरमा लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गर्ने चलन छ । यी सबै देवतालाई चढाएर मात्र य:मरि खाने गरिन्छ ।

नेपाल भाषामा ‘य’ भनेको मनपर्ने र ‘मरि’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम य:मरि राखिएको संस्कृतिविदहरुको भनाई छ । यसरी बनाइएको य:मरिलाई धानका भकारी लगायतमा चढाउने गरिन्छ । यसरी चढाएको य:मरि चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने चलन रहेको छ ।

नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । नेवार समुदायको पहिलो मिठाई वा रोटी य:मरि हो । आजका दिन दान गर्नाले धर्म हुने विश्वासका साथ गीत गाउँदै नाच्दै य:मरि माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ ।

यसैगरी, ज्यापु संस्कृतिको रक्षाका लागि विभिन्न कार्यक्रमको आयोजना गरी ज्यापू दिवस मनाइँदैछ । २०६१ सालदेखि य:मरि पुन्हीकै दिन यो दिवस मनाउने गरिएको छ । ज्यापु संस्कृति संवद्धनका लागि यसको सन्देश नयाँ पुस्तामा पुर्याउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार