देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज विपी जयन्ती – तिन दिनसम्म बिपी साहित्य महोत्सव हुने

0

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव हुने भएको छ ।

बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र यही भदौ २४ गते बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन्।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार