देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज विश्वकर्मा पूजा, विज्ञान दिवस

0

काठमाडौं – आज असोज १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान विश्वकर्माको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाउने गरिन्छ ।कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवता मध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेदद्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् ।

विश्वकर्मा देवताहरुका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन् । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक ऊर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्दछन् ।

आजका दिन विश्वकर्माको मूर्ति स्थापित गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पूजा गरिन्छ ।

विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ ।

वास्तुविधा पनि एउटा प्राचिनतम वित्रान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार