देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आज विश्व वातावरण दिवस

0

काठमाडौं – ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ ।

हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेका छन्, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।’

साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उनले औंल्याएका छन् ।

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्। दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाएका छन् ।

यसैबीच वातावरण विभाग, वातावरण संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । आफू सम्बद्ध निकायको वार्षिक नीति तथा कार्यक्रममा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहने विषयमा सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

वातावरण तथा जनस्वास्थ्यलाई हानी पुर्‍याउने तोकिएको मापदण्डभन्दा कम गुणस्तरको प्लाष्टिकका झोलाको प्रयोग र बिक्री वितरणलाई निरुत्साहित गर्ने, बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत प्रतिबद्धतामा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासका क्रममा दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।  

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार