देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आधार क्षेत्रमै दबाबमा मधेसी नेता

0

काठमाडौं – मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको चुनावी अभियानमा समेत निस्कन भ्याएका छैनन् ।

संविधान जारी हुँदाको असन्तुष्टिकै रापतापमा ०७४ मा भएको निर्वाचनमा यादवले सप्तरी–२ र ठाकुरले महोत्तरी–३ बाट फराकिलो मतान्तरले जितेका थिए । त्यतिबेला यादव नेतृत्वको संघीय समाजवादी फोरम र ठाकुर नेतृत्वको राजपा मिलेर चुनाव लडेका थिए भने यी दुवै नेतालाई कांग्रेसको साथ थियो । यी दुई नेता अहिले पनि पुरानै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । यसपटक यादवलाई एमालेको साथ छ, ठाकुरलाई सत्ता गठबन्धनको ।

ठाकुर र यादव दुवैले आ–आफ्नो क्षेत्रमा मतदाताको चर्को गुनासो सुन्नुपरेको छ । मतदाता फकाउन यी दुवै नेता संघर्षरत छन् । मतदाता रिझाउनकै लागि ठाकुरले लोसपाको घोषणापत्र गत साता आफ्नै क्षेत्र जलेश्वरमा सार्वजनिक गरेका थिए । ‘क्षेत्रमा उहाँको माग बढी रहेकाले घोषणापत्र जलेश्वरमै सार्वजनिक गर्नुपर्‍यो,’ ठाकुरका स्वकीय सचिव प्रदीप पाठकले भने, ‘घोषणापत्र सार्वजनिक गरेलगत्तै हामी फेरि घरदैलोमै व्यस्त भयौं ।’

जसपा अध्यक्ष यादव पनि गत साता पार्टीको घोषणापत्र सार्वजनिक गर्न एक दिन काठमाडौं बसेर सप्तरी फर्किए । मधेसकेन्द्रित दुवै दलका मुख्य नेताहरू आफ्नो क्षेत्रमा रूमल्लिँदा अन्य क्षेत्रका उम्मेदवार आफ्नै बलबुतामा प्रचारमा जुट्न बाध्य छन् । शीर्ष नेता नै ‘डेन्जर जोन’ मा रहेकाले अन्य उम्मेदवारले आफ्ना क्षेत्रमा चुनावी कार्यक्रमका लागि यादव र ठाकुरलाई आग्रह गरेका पनि छैनन् ।

यादव र ठाकुरजस्तै दबाबमा छन्, लोसपाका अर्का नेता राजेन्द्र महतो र उनका प्रतिस्पर्धी महिन्द्र राय यादव । दुवै नेताको मुद्दा मिले पनि चुनावमा मन मिलेको छैन । सर्लाही–२ बाट लडेका महतो र राय मतदाता रिझाउन व्यस्त छन् । ‘उम्मेदवार भएकाले आफ्नो क्षेत्रमा बढी समय दिनु स्वाभाविक हो,’ जसपा प्रवक्ता मनीष सुमनले कान्तिपुरसँग भने, ‘चुनाव प्रचार नै ढिलो सुरु भयो, अब बिस्तारै अध्यक्षज्यूले अन्य क्षेत्रमा पनि समय दिनु हुनेछ ।’

लोसपा नेता केशव झाका अनुसार सबैजसो उम्मेदवार आ–आफ्नै क्षेत्रमा व्यस्त रहेको बताए । ‘सबै क्षेत्रमा टफ कम्पिटिसन छ, उम्मेदवारहरू आ–आफ्नै क्षेत्रमा मिहिनेत गरिरहनुभएको छ,’ झाले भने, ‘नेताहरूलाई आफ्नै क्षेत्रमा लाग्न भनिएको छ । क्याम्पेनिङको कुनै अलग–अलग कार्यक्रम छैन ।’ मधेसमा लोसपाले राम्रो सिट जित्ने उनको दाबी छ । ‘सर्लाही, महोत्तरी र धनुषामा लोसपाका उम्मेदवार मजबुत स्थितिमा छन्,’ उनले भने, ‘सप्तरी र बारामा टफ कम्पिटिसन छ ।’

मधेस आन्दोलनको जगमा चुनाव जित्दै, राज्य सत्तामा पहुँच बनाउँदै आएका मधेसी नेतालाई साख जोगाउन कठिनाइ देखिन्छ । पटक–पटक जिते पनि मधेसका मुद्दा र मागको लडाइँ बाँकी नै रहेकाले मधेसी मतदातामा निराशा पनि छ । मधेस मामिलाका जानकार विजय मिश्रका अनुसार मधेसकेन्द्रित दलका चाहना राम्रो भए पनि काम गर्न नसकेकाले असन्तुष्टि बढेको हो । ‘मधेसको अधिकार र सम्मानका लागि उनीहरूले काम गर्न खोजेका हुन् तर कानुन बनाउने र संविधानमा आफ्ना मुद्दा समेट्ने अवसर पाएनन्,’ मिश्रले भने, ‘यादव र ठाकुरको दल पटक–पटक सरकारमा पुगे तर सत्तामा पुग्न सकेनन् ।’

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १ हजार ५ सय ९८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा ८ सय ४९ जना अर्थात् ५२ प्रतिशत स्वतन्त्र छन् । २०७४ मा मधेसकेन्द्रित दल मिलेर प्रदेशमा सरकार बनाएका थिए, अहिले आफूबीचमै चर्को प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूलाई सीके राउतको दल जनमत पार्टीले पनि चुनौती थपिदिएको छ तर स्थानीय तह निर्वाचनमा उत्साहजनक नतिजा नपाएको जनमत पार्टीले अहिले ‘चमत्कार’ गर्ने संकेत देखिएको छैन । जनमतले उठाएका भ्रष्टाचार, ढिलासुस्ती, सुशासन, राजनीतिक स्वायत्तता, जनता राज्यलगायतको एजेन्डामा नागरिकको झुकाव देखिन्छ ।

निर्वाचन पद्धतिमा पहिलोपटक अनुभव बटुल्न थालेका राउत धेरै पटक केन्द्रीय सत्ताको स्वाद चाखेका यादवसँग भिड्दै छन् । उपेन्द्रको टाउको दुखाइमा राउतसँगै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेता जयप्रकाश ठाकुर हुन् । यी दुई प्रतिस्पर्धीका कारण एमालेसँग गठबन्धन गरेका यादवलाई जित हासिल गर्न पहिलेजस्तो सजिलो नरहेको राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक एवं लेखक चन्द्रकिशोरका अनुसार मधेसका नेता संविधानसभा चुनावमा एकमत बनाएर सत्तामा पुगेका थिए तर अब त्यो स्थिति रहँदैन । ‘यादवजीलाई यो पटकको निर्वाचन त्यति सहज छैन,’ उनले भने, ‘सिकेको नौलो अनुहार र सत्ता गठबन्धनका ठाकुरको प्रभाव भारी पर्न सक्छ ।’

जसपा प्रवक्ता सुमन भने अध्यक्ष यादव आफ्नो क्षेत्रमा ‘सेफ’ रहेको दाबी गर्छन् । ‘म पनि उहाँकै क्षेत्रमा खटिइरहेको छु, मतदाताको राम्रो रेस्पोन्स र झुकाव देखिएको छ,’ उनले भने, ‘उहाँले आरामले चुनाव जित्नु हुन्छ ।’ ०७४ मा तत्कालीन राजपासँग गठबन्धन गरेका यादवले २१ हजार ६ सय २० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादीका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाएका थिए । त्यस्तै, राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याएर तेस्रो मत स्थान पाएका थिए ।

लोसपा अध्यक्ष ठाकुर ०७४ मा महोत्तरी–३ बाट १८ हजार १ सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए । २६ हजार ८ सय ४५ मत ल्याएर उनी निर्वाचित हँुदा प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत पाएका थिए । उनलाई यसपटक जसपाका तर्फबाट पूर्वकृषिमन्त्री हरिनारायण यादव, एमालेबाट बागी उम्मेदवारी दिएका रामधार कापर र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले चुनौती दिएका छन् । पाँच पालिका रहेको महोत्तरी–३ मा स्थानीय तह निर्वाचनमा पाएको मतअनुसार जसपा बलियो देखिएको छ । लोसपाले एक पालिका मात्रै जितेको छ ।

सर्लाही–२ मा लोसपाबाट राजेन्द्र महतो र सत्ता गठबन्धनबाट महिन्द्र राय यादव उम्मेदवार छन् । नेपाल समाजवादी पार्टीका नेता यादवले माओवादीको चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराएका हुन् । २०७० मा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गरेका थिए ।

मधेस प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सांसद निर्वाचित हुनेछन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिल्दा ३२ क्षेत्रमध्ये १९ मा जित पाएका थिए । राजपाले १० र फोरमले ९ क्षेत्र जितेका थिए । कांग्रेसले ६, माओवादीले ५ र एमालेले २ क्षेत्रमा मात्रै जितेको थियो ।

विश्लेषक तुलानारायाण साह मधेसको निर्वाचन परिवेश बदलिएकाले उनीहरूले अधिकतम जित्ने सम्भावना कम रहेको दाबी गर्छन् । उनका अनुसार मधेसकेन्द्रित जसपा र लोसपाले कम सिट ल्याउँछन् । मधेस प्रदेशमा कांग्रेसले अधिक मतले सिट जित्ने सम्भावना रहेको उनको निर्वाचन विश्लेषण छ । ‘पहिला मधेसी नेतामा एकरूपता थियो, त्यहाँ संविधान संशोधनको मुद्दा थियो,’ उनले भने, ‘अबका नतिजा फरक आउँछ । मधेसी नेता विभाजित छन् । उनीहरू एकजुट हुने मुद्दा छैन । वाम गठबन्धन पनि नभएकाले मधेस प्रदेशमा कांग्रेसलाई बढी लाभ हुन सक्छ ।’ कान्तिपुर दैनिक बाट ।

 

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार