देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘आफ्नै गुट र गिरोहको लागि मात्र काम गर्ने प्रधानमन्त्रीले देशको लागि केही गर्न सक्दैन’, सिटौला

0

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले देशका कुनंै नागरिकको पक्षमा नभई आफ्नै पार्टीको गुटको हित र स्वार्थमा केन्द्रीत हुँदै केही निश्चित तस्कर, व्यापारी र दलालहरुलाई वरीपरि राखेर उनीहरुकै मिलिभगतमा पैशा आर्जन गर्नमै केन्द्रीत भएको बताएका छन् ।

नेपाली कांग्रेसको झापा –काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार राजधानीमा आयोजना गरेको भेलामा सिटौलाले प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले कायम गरेमा ‘अदालत लत्रियो’ भनेर सहजै बुझ्नु पर्ने बताए ।

उनले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले सदर नगर्ने विश्वास आफूलाई भएको जनाउँदै अदालतले प्रधानमन्त्रीका गलत कदमलाई रोक्न सकेन भने देश दुर्घटना र अराजकताको दल दलमा फस्ने ठोकुवा गरे ।

‘न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनु पर्छ भनेरै संविधानमा संसद र प्रधानमन्त्रीका गलत कामलाई समे रोक्न सक्ने अधिकार अदालतलाई हामीले दियौं । संविधानमा सर्वोच्च अदालतलाई संविधानको रक्षा कवचको रुपमा राखेका छौं’, संविधान मस्यौदा समितिका तत्कालिन सभापति सिटौलाले भने ‘संविधानको सुरक्षा कवचको रुपमा राखिएको अदालतले आफ्नो दायित्व पुरा गर्न सकेन भने हामीले बुझ्नु पर्छ लोकतान्त्रिक शासन प्रणालीमाथि गहिरोसँग प्रहार गरियो भनेर ।’

‘पार्टीको गुट र आफ्नै गिरोहको लागि मात्र काम गर्ने प्रधानमन्त्रीले समग्र देशको लागि केही गर्न सक्दैन’, सिटौलाले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बद्धर गर्न सकेन भने यो देशको लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा ठूलो समस्या आउँछ । त्यो भनेको अदालतले पनि प्रधानमन्त्रीलाई रोक्न सकेन है भन्ने सन्देश नै हो ।’

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम अदालतले नसच्याएमा एउटा गलत सन्देश जाने भन्दै विघटन बदर नभएमा निर्वाचन आयोग, अख्तियार, लोकसेवा, प्रहरी र प्रशासन सबैले आफ्नो निष्पक्षतालाई गुमाउने र निरंकुसता बढ्दै गएर तानाशाही शासन व्यवस्था आउने खतरा रहेको चेतावनी दिए ।

‘ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय अलोकतान्त्रिक र असंवैधानिक छ भनेर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतले निर्णंय गरिसकेको अवस्थामा कांग्रेसका कोही पनि नेताले शंका गर्न सक्दैनन्’ सिटौलाले भने ।

सम्पर्कं समितिका उपसभापति रोसन लामिछानेको सभापतित्वमा भएको सो। भेलामा कांग्रेस झापा काठमाडौं सम्पर्कं समितिका सभापति दीपक उप्रेती, नेविसंघ उपाध्यक्ष तुलसा पन्तसहित झापा क्षेत्र नम्वर ३ स्थायी घर भई काठमाडौंमा रहेका कांग्रेसका कार्यकर्ता, शुभेच्छुक र मतदाताको उपस्थिति थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार