देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इजरायलका सबै विद्यार्थी सुरक्षित छन् – परराष्ट्र मन्त्रालय

0

काठमाडौं – नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरु सुरक्षीत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अनलाइनखबरसँग भनिन्, ‘इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्‍याइसक्यौं । रातिसम्म मेरो जानकारीमा भएअनुसार ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।’

प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।

इजरायलको अहिलेको संकटको बेला इजरायलका स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी-हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो ।

सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ । नेपालीहरुको उद्धारका लागि आवश्यक परे मित्र राष्ट्रहरुसँग पनि सहयोग माग्ने विकल्प पनि खुला राखेको प्रवक्ता लम्सालले बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार