देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ लडाकुको मृत्यु

0

रासस  – गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो ।

आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकूविरुद्ध कडा कारबाही थालेको छ । सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ ।

इस्लामिक जिहादी समूहले हमाससँग मिलेर इजरायलविरुद्ध सन् २००८ यता तीन पटक युद्ध लडिसकेको छ । यो समूह गाजापट्टी र सिरियामा सक्रिय छ । सिरियाली राष्ट्रपति बसार अल–असादसँग निकट सम्बन्ध रहेको यस समूहले इजरायली आक्रमणमा आफ्ना दुई लडाकूको मृत्यु भएको पुष्टी गरेको छ ।

सन् २०११ मा सिरिया द्वन्द्व शुरु भएयता मात्र सिरियामा इजरायलले सयौं पटक हवाई आक्रमण गरिसकेको छ । यी आक्रमणहरु मुख्य रुपमा सिरियाली सेनाका साथै इरान समर्थित लडाकूविरुद्ध लक्षित रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार