देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘इनफ इज इनफ’ अभियानका युवाहरूको अनशनमा साझा पार्टीको ऐक्यबद्धता

0

काठमाडौं – कोरोना महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ’इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा ऐक्यबद्धता जनाएको हो ।

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै ई, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः अनसन सुरु गरेको बिहीबार ६ दिन पुगेको छ । विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ र देश विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यवद्धता प्रकट गर्न हार्दिक आग्रह गर्दछ ।’

अनशनरत युवाहरुको जीवन तलमाथि भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्नेछ ।’

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका मागहरू राख्दै दुई ई र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए । सरकारले ती मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए । तर, सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ई, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह सुरू गरेका हुन् ।

सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेका छन् । तर सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त छन्। देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता नदेखिएको साझा पार्टीका सहप्रवक्ता पाठकले बताएका छन् ।

संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध भएको पाठकले बताए । देशको रूपान्तरणका लागि ई, करण गुरूङ र समाइरा श्रेष्ठ जस्ता युवाहरूले लड्नु पर्ने युद्ध लामो छ । तर सरकारको असंवेदनशीलताले गर्दा एउटै लडाईंमा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन चोट पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार