देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इरानका वरिष्ठत परमाणु वैज्ञानिक फख्रिजादेको हत्या

0

काठमाडौं – इरानका वरिष्ठ आणविक वैज्ञानिक मोजेन फख्रिजादेको हत्या भएको छ । राजधानी तेहराननजिकै इरानका वरिष्ठत वैज्ञानिक फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको हो ।

तेहरान नजिकै डामाभान्ड काउन्टीको अब्सर्दमा भएको आक्रमणमा परेर गम्भीर घाइते भएका फाख्रिजादेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । रक्षा मन्त्रालय अन्तर्गतको अध्ययन तथा अन्वेशषण विभाग प्रमुख समेत रहेका फख्रिजादे सवार गाडीमाथि हतियारधारी समूहले आक्रमण गरेको थियो ।

इरानका विदेशमन्त्री जवाद जारिफले “कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म” भन्दै हत्याको निन्दा गरेका छन्। इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ ।

इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ । इरानले गोप्य रुपमा विकाश गरिरहेको आणविक हतियार कार्यक्रमको मुख्य योजनाकार फाख्रिजादे रहेको पश्चिमा गुप्तचर संस्थाहरुले आशंका गर्दै आएका छन् ।

सन् २०१४ मा पश्चिमा एक कुटनीतिज्ञले इरान कुनै समय आणविक हतियारमा समृद्ध भएमा फख्रिजादे आणविक बमका पिता भनेर चिनिने बताएका थिए । इरानले आफ्नो युरेनियम क्षमता बढाउँदै लगेकोमा विश्वले नै चासो व्यक्त गरिरहेको समयमा फख्रिजादेको हत्या भएको हो ।

गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धित युरेनियम महत्त्वपूर्ण मानिन्छ । सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो ।

तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो । लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले ज्यानुअरीमा पद सम्हालेपछि इरानसँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार