देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलाम २ मा काँग्रेसको उम्मेदवार खड्का कि आचार्य भन्नेमा विवाद

0

काठमाडौं – इलाम २ को उम्मेदवार चयन गर्न बसेको काँग्रेस संसदीय बोर्डको बैठक बिना निष्कर्ष टुङ्गीएको छ ।

मंगलबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्मा दुई खेमामा बाँडिएर विवाद बढेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।  

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै मौका दिनुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा उभिएका छन् । तर, देउवा टसमस नभएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने एकजनाको नाम टुंगो लगाउँदा सिफारिसमा परेकालाई पनि बोलाएर छलफल गरी सम्झाउने नीति लिइएकाले बुधबारसम्म छलफल लम्बिएको बताए । उनले भने, ‘आकांक्षी सातजना भएकाले एकजनाको पक्षमा निर्णयमा पुग्दा अरू साथीहरूलाई पनि बोलाएर छलफल गरेर सम्झाएर मात्र टुंगोमा पुगौँ भन्ने भएकाले छलफल लम्बिएको हो ।’

जिल्लाबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो ।

एमाले, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, पहिचानवादी समूहलगायतले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाइसकेका छन् ।

पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए ।

२४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार