देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उखु किसानको खातामा अनुदान पठाउन कृषक दर्ता प्रक्रिया सुरु

0

(काठमाडौं) – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु उत्पादक कृषकको खातामा अनुदान पठाउन कृषक दर्ता प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गरी सरकारी अनुदानका लागि स्थानीय तहमा अनिवार्य दर्ता हुन उखु किसानहरुलाई आग्रह गरेको हो ।

उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७५ को दफा ४ (क) बमोजिम आगामी आर्थिक वर्षबाट सरकारी अनुदान प्राप्त गर्न गरिएको व्यवस्था पछि किसानलाई अनिवार्य दर्ता हुन आग्रह गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७/७८ को अनुदान पाउनका लागि सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुन भनेको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा उखु उत्पादन गरी नेपालका चिनी मिललाई उखु बिक्री गर्ने सबै कृषकहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र दर्ता हुन अनुरोध गरिन्छ । यसको प्रक्रिया र आवश्यक पर्ने कागजात सम्बन्धी सबै जानकारी स्थानीय तहबाट उपलब्ध हुनेछ ।’

स्थानीय तहबाट प्रकाशित भएको उखु कृषकको लगतमा छुट हुन गएका कृषकले सरकारी अनुदान नपाउने हुनाले अनिवार्य दर्ताका लागि मन्त्रालयले कृषकहरुलाई आग्रह गरेको छ । हरेक स्थानीय तहले भदौ मसान्तसम्म दर्ता कृषकको विवरण मन्त्रालयमा पठाउनु पर्ने भएकाले त्यस अघि नै दर्ता भईसक्न पनि कृषकलाई मन्त्रालयले भनेको छ । यसको कार्यान्वयन सम्बन्धमा आवश्यक सहजीकरणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७६ फागुन १८ गतेको पत्र मार्फत सम्बन्धित स्थानीय तहलाई भनेको छ ।

सम्बन्धित स्थानीय तहले कोभिड–१९ बाट सिर्जित परिस्थितिमा सरकारबाट जारी भएका निर्देशन अनुकूल हुने गरी यस कार्यलाई यथाशीघ्र सम्पन्न गर्न मन्त्रालयले अनुरोध गरेको छ । दर्ता भएका उखु कृषकको लगत भाद्र मसान्त भित्र प्रकाशन गरी सम्बन्धित चिनी मिल, जिल्लास्थित भुक्तानी समिति र मन्त्रालयमा उपलब्ध गराइदिन पनि मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

यस्तै कृषकहरु दर्ता हुने क्रममा सम्बन्धित उखु कृषकको बैंक खाता रहेको बैंकको नाम र खाता नम्बर सम्बन्धी विवरण माग गरी लगतमा समेट्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार