देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपत्यकामा खानेपानी नियमित

0

(काठमाडौँ) – काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी नियमित रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्वाध रुपमा सेवा प्रवाह हुने जनाएको छ । यसका लागि खानेपानी लिमिटेडले आफ्‍ना कर्मचारीलाई आवश्यक सेनिटाइजर, मास्क लगायत वस्तु उपलब्ध गराएर खानेपानी उपलब्ध गराउने जनाएको छ ।

अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मत लगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी साता सम्ममा निर्णय हुनेछ ।

उनले भने, ‘यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।’ लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक ९ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गरिरहेको छ । यसैबीच, कर्मचारी सञ्‍चय कोष पुल्चोक शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्ता मार्फत् हुने कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोबार) बन्द गर्ने भएको छ ।

कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोबार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार