देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपत्यका बाहिर पनि सुन वितरण गर्न बैंकर्ष संघ सहमत

0

काठमाडौं – नेपाल बैंकर्ष संघ काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा संघले उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न सहमति जनाएको हो ।

छलफलका क्रममा सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा ब्यवसायीहरुले समस्या खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुबाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यस क्रममा बैंकर्ष संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीले ब्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको ब्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपि, सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका ब्यवसायी सुन खरिदका लागि काठमाडौंमा धाउनुपर्ने झन्झट कायमै छ ।

छलफलका क्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्या समाधार गरी सहज रुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताए ।

राष्ट्र बैंकले तोकेको ब्यवस्था अनुसार बैंकर्ष संघको सिफासिरमा बैंकहरुले विदेशवाट कच्चा सुनको आयात गरी महासंघको सिफासिरमा ब्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लामा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरकफरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्त मात्रामा आपूर्ति ब्यवस्था मिलाउन दुबै पक्षले पहल गर्ने लगायत विषयमा छलफल भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार