देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ऋणको भाका सार्न दातृ निकायलाई अर्थ मन्त्री खतिवडाको आग्रह

0

(काठमाडौं) – अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाललाई दिइएको ऋणको भाका सार्न दातृ निकायलाई आग्रह गरेका छन् । बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारसँगको छलफलमा मन्त्री खतिवडाले नेपाललाई दिइएको ऋणको भाका सार्न दातृ निकायलाई आग्रह गरेका हुन् ।

विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने र वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने उनले आग्रह गरेका हुन् । कोरोना भाइरसको महामारीले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासका बारेमा शुक्रबार छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खतिवडाले अहिलेको कोरोना भाइरसको संक्रमण २१ औं शताब्दीको सबैभन्दा ठूलो संकट भएको बताएका छन् । खतिवडाले अहिले मानवीय र आर्थिक संकट सँगसँगै आएको बताए । उनले भने, ‘विगतका संकट या त मानवीय थिए या आर्थिक थिए र ती अघि पछि भएर आएका थिए भन्ने उल्लेख गर्दै अहिले मानवीय र आर्थिक संकट सँगसँगै आएको छ ।’

पहिलेको संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि सर्वथा उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्ने उनले बताए । अर्थमन्त्री खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न नेपालले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउँदै यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए ।

यस्तै, अर्थमन्त्रीले विकास साझेदारहरुसँग परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र नेपालको संकटको समाधान हुने बताए । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विश्व बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैक, एशियाली पूर्वाधार विकास बैक जस्ता बहुपक्षीय विकास संस्था लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारी छलफलमा सहभागी थिए ।

बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा सहजिकरण समिति गठन

छलफलमा कोरोना रोकथाम, उपचार र पुनर्स्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजिकरण समिति गठन गर्ने निर्णय भएको छ । सो समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिहरुलाई समेत समावेश गर्ने प्रस्ताव नेपालले गरेको छ । नेपालको प्रस्तावमा विकास साझेदारले समर्थन गरेका छन् ।

विकास साझेदारहरुले नेपालले हालसम्म गरेका कार्यहरुको सह्राहना गर्दै अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाएको मन्त्रलायले उल्लेख गरेको छ । छलफलमा विश्व बैंकका उपाध्यक्ष हाटविग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक च्याञ्योङ रि, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष नेना स्टोजोभिक र एशियाली विकास बैकका उपाध्यक्ष सिजिन चेन सहभागी भएका थिए ।

एशियाली पूर्वाधार विकास बैकका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि.जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजर र नेपालस्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल गरिएको थियो । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत सहभागी भए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार