देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकतालाई बचाउन अध्यक्ष ओलीसँग ठोस प्रस्ताव माग

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले संकटमा परेको पार्टी एकतालाई बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग ठोस प्रस्ताव माग गरेका छन् ।

अध्यक्ष ओलीले छलफलका लागि बोलाएपछि निकट नेतालाई लिएर आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता नेपालले पार्टी एकता बचाउन आग्रह पनि गरेका हुन् । छलफलमा अध्यक्ष ओलीले पार्टी एकता संकटमा रहेको भन्दै एकता जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेका थिए ।

छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार अहिलेको समस्याको निकास बैठक भएकाले त्यसबाट मात्रै समस्याको समाधान खोज्न नेता नेपालको आग्रह थियो । नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको हुँदा एकता जोगाउन ओलीको मुख्य भूमिका हुने बताएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटको खतरा बढेको निष्कर्ष सुनाए पनि बैठक राख्नेबारे सहमत नभएको नेता पन्तले जानकारी दिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधाममन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई संवादका लागि बोलाएका हुन् ।

अध्यक्ष ओलीले एक्लै बोलाए पनि नेता नेपालले एक्लै संवादमा नबस्ने भन्दै आफू निकट स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र पन्तलाई साथमा लिएर बालुवाटार पुगेका थिए ।

तीनतीन घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको संकट हल गर्न नेपालसँग सहयोग मागेका हुन् । भेटमा सहभागी एक नेताले ठोस कुरा केही नभएको भन्दै प्रधानमन्त्रीले गुनगुन मात्रै बढी गरेको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग असोज ४ गते र ११ गते वान टु वान भेट गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रयास गरेका छन् ।

शनिबार प्रचण्ड सहितका ५ नेताले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र नै दिएका थिए । पत्रमा प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । शनिबार बालुवाटारको बैठकमा प्रधानमन्त्री ओली र दाहालबीच चर्काचर्की नै परेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार