देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एक मत नपुग्दा वागमती प्रदेश सरकार अल्पमतमा

0

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।

दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले मंगलबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी प्रदेश सरकार अल्पमतमा परेको हो । 

पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले चैत ९ देखि सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मंगलबार मात्र पत्र दर्ता गरेको बताए । ‘हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं,’ वज्राचार्यले भने, ‘यसअघि नै समर्थन फिर्ता लिने तयारी भए पनि कांग्रेसले फिर्ता लिएपछि मौन बस्यौं । अहिले हामीलाई धेरै अफर आए । अब हामी मुख्यमन्त्री नपाए प्रतिपक्षमै बस्ने निर्णयमा पुगेका हौं ।’

हाम्रो नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मध्ये एकको समर्थनबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेका छन् ।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार