देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ’ – प्रधानमन्त्री

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।

प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।

सम्बोधनको क्रममा उनले भने, ‘शान्तिव्यवस्था कायम भएको छ । समाजमा भएका सबै प्रकारका अपराधको नियन्त्रण गरिएको छ ।’ साथै, उनले भूकम्प पछिको पुनर्निर्माणको कामलाई सम्बन्धित निकायबाट हस्तान्तरण गरिएको बताए। ।

प्रधानमन्त्री देउवाले बाढीका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी यसै वर्ष काठमाडौंमा ल्याउने दाबी गरे। गत असारमा आएको सिन्धुपाल्चोकको भ्रेमाथाङको बाढीले क्षतिग्रस्त बनेको आयोजनाको मुहान क्षेत्रको मर्मत गरी यस वर्षभित्र काठमाडौंमा पानी वितरण गरिने देउवाको भनाइ छ।

उनले देशमा अत्यावश्यक वस्तुको कुनै अभाव नभएको बताए। ‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु। उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु। आपूर्ति व्यवस्था सुधार गरी महँगी र भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन,’ सम्बोधनको क्रममा उनले भने।

उनले अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर जोड लगाइरहेको र ६० वर्षमाथिका व्यक्तिलाई यसै महिनादेखि बुस्टर डोज लगाइने बताए। ११ वर्षमुनिका बालबालिकाहरूलाई पनि चाँडै खोप दिइने उनले बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार