देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी सम्झौताको सकिँदै, अन्तिम घडीमा दौडादौड

0

काठमाडौं – अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिँदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरे। यसमा दुई प्रयोजन देखिन्छ। एक, गठबन्धन जोगाउने, एमसीसी पास गर्ने। अर्को एमसीसी रोक्ने।

कांग्रेस र एमालेबीच दिउँसो र बेलुका गरी दुईपटक वार्ता भयो। छलफल सकारात्मक भएको एमाले उपाध्यक्ष सुवास नेम्बाङले बताए। ‘प्रधानमन्त्री र अध्यक्षबीच एक्लाएक्लै र सामूहिक रूपमा पटक–पटक कुराकानी भएको छ’, नेता नेम्बाङले भने, ‘वार्ता सकारात्मक ढंगले अघि बढेको छ। यसलाई शुक्रबार पनि निरन्तरता दिनेछौं।’ संसद्को अवरोध हटाउन समझदारी कायम गर्ने विषयमा कुराकानी भएको नेम्बाङले बताए।

ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच पनि एक्लाएक्लै र सामूहिक रूपमा कुराकानी भएको नेता नेम्बाङले बताए। ओलीले नेकपाकालमा आफूलाई लगाएका १९ बुँदे आरोपपत्र खारेज गरे सम्बन्ध सुधार हुने बताएका थिए। ‘अध्यक्षज्यूले माओवादी केन्द्रसँग दुई कुरा राख्नुभयो। पहिलो त नेकपाकालमा आफूलाई लागएका आधारहीन १९ बुँदे आरोपपत्र फिर्ता लिन र खारेज गर्न भन्नुभयो। त्यो फिर्ता लिएपछि पार्टीको सम्बन्ध सुधारको वातारण बन्छ’, नेम्बाङले भने।

संसद्को गतिरोधका विषयमा एमालेले माओवादीसँग स्पष्ट धारणा राखेको उनले बताए। ‘हामीले संसद्मा प्रवेश गर्ने ठाउँ नै पाएनौं। संसद्मा हामीप्रति भेदभावपूर्ण व्यवहार भयो। १४ सांसदको कारबाही सूचना दिँदा सभामुखले केही गर्नुभएन। तर, अरूको छिटोछिटो तामेली गर्नुभयो’, उनले भने, ‘यसकारण हामी आन्दोलनमै छौं। कुनै प्रक्रियामा नै प्रवेश गर्न पाएका छैनौं। यो विषयलाई सभामुखले सच्याउनुपर्‍यो। होइन भने उहाँले मार्गप्रशस्त गर्नुपर्‍यो। यी कुरा भएपछि सम्बन्ध नयाँ ढंगले अघि बढ्न सक्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् भवनमै शर्मा ओलीसँग भेट गरेका थिए। लगत्तै माओवादी केन्द्र अध्यक्ष दाहाल ओलीलाई भेट्न पुगेका थिए। ओली राति भने प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। दाहालले बिहान एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। त्यसपछि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गरे।

दाहालको रोक्ने कसरत 
दाहाल बिहीबार बिहानै भेटेर बालुवाटार पुगे। संसद् अवरोध नखुलेसम्म एमसीसीलाई निर्णय प्रक्रियामा लैजान नहुने प्रस्ताव गरे। तर, देउवा सहमत भएनन्। त्यसपछि दाहालले सभामुख अग्निप्रसाद सापकोटालाई भेटे। एमसीसी रोक्नेबारे छलफल गरे। दाहालले एमसीसी फेल गराउने गृहकार्य गरेको कांग्रेसको बुझाइ छ। त्यही कारण देउवाले ओलीसँग सहयोग मागेको स्रोतको भनाइ छ।

एमालेको अवरोधबीच मत विभाजनमार्फत सभामुखले एमसीसी असफल गर्ने योजना बनाएको सुइँको पाएर देउवाले संसद् बैठक स्थगन गर्न लगाएको स्रोत बताउँछ। दाहालको रणनीति बुझेपछि देउवा ओलीसँग भेट गर्न पुगे। उनीहरूबीच केही समय एक्लाएक्लै वार्ता भएको थियो। कुराकानी सकारात्मक भएपछि ओली राति बालुवाटार पुगेका जनाइएको छ। एमालेले गठबन्धन तोड्न र सभामुखलाई हटाउन कांग्रेस सहमत भए एमसीसी अनुमोदनमा सघाउन तयार रहेको सन्देश प्रधानमन्त्रीलाई दिएको छ। तर, प्रधानमन्त्रीले ओली नेतृत्वकै अघिल्लो सरकारले एमसीसी संसद्मा दर्ता गरेकाले अनुमोदन प्रक्रियामा सघाउन आग्रह गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताए।

‘तपाईंकै पालामा एमसीसी संसद्मा दर्ता भयो। तपाईंको सरकार हुँदा हामीले सहयोग गरेकै हो। अहिले हामी सरकारमा हुँदा पनि सहयोगको अपेक्षा राख्छौं’, देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री थापाले भने। देउवाले संसद्को अवरोध हटाउन पनि आग्रह गरेका थिए।

एमसीसीको विषयले गठबन्धन रहँदैन भन्ने निष्कर्ष निस्किसकेको थापाले बताए। ‘गठबन्धन अगाडि जाने नसक्ने भयो। धराप भयो’, थापाले भने। प्रधानमन्त्रीको आग्रहप्रति ओली सकारात्मक बनेको थापाले बताए। ‘एमसीसीमा तपाईंहरूको गठबन्धन बीचमै सकेसम्म सहमति होस् भन्ने लागेको थियो’, ओलीले भनेका थिए, ठीक छ मैले पनि पार्टीका साथीहरूसँग छलफल गर्नुपर्ने हुन्छ।’

कांग्रेसले गठबन्धन तोड्ने ‘चेतावनी’ दिएपछि दाहालले राष्ट्रिय सरकारको नेतृत्व गर्न ओलीलाई आग्रह गरे। देउवासँगको गठबन्धन भत्किन लागेपछि दाहालले ओलीसँग ‘सहकार्य’ हुन सक्ने सन्देश कांग्रेसलाई दिएका छन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार