देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसीसी सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन्’ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्युनिष्टहरुलाई भय र भ्रम बेचेर उत्तेजना किन्ने व्यापारीको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सोमबार कोहलपुरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताए ।

‘एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन् । उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुट बोल्दैछन्’ ।

महामन्त्री थापाले अगाडी भने, ‘नेपालको हितमा रहेको एमसीसीका पक्षमा कांग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो । स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।’

चुनावी गठबन्धन आफूले पनि नचाहेको भन्दै उनले भने, ‘गठबन्धन नगर्ने त भन्ने अनि पार्टीलाई जिताउन एक हुने कि नहुने ? जसले टिकट पाउँछ, उसलाई जिताउन लाग्ने कि नलाग्ने, रुख बाहेक मुख हेर्दैनौं भन्ने भरोसा पार्टी नेतृत्वलाई दिलाउने कि नदिलाउने ?’

महामन्त्री थापाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन एक दिन पनि दायाँबायाँ नहुने बताउँदै उनले निर्वाचनमा होमिन निर्देशन दिए ।

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको बृहत् सभालाई लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य पूर्ण आचार्य, तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, ३ का सभापति नक्की खाँ, महासमिति सदस्य भानुभक्त भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार