देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमालेलाई बहुमत दिएर सरकार काँग्रेसलाई बुझाउनुभन्दा सिधै कांग्रेस रोजे भैगयो नि ’ – महामन्त्री शर्मा 

0

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताले स्थिर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभए बताएका छन् ।

मध्यपुरथिमि ४ बालकुमारीमा आज बिहीवार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले पाँच वर्षका लागि चुनाव जितेको तत्कालीन नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘हुन त ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, अझै मिडियासँग अन्तर्वार्ता दिँदै हातका औँला हल्लाउँदै ओलीजी भन्नुहुन्छ,  ‘एक्लै–एक्लै आऊ, नसके सबै मिलेर आऊ, एमाले भिड्न तयार छ’, यो कस्तो दादागिरी शब्द चयन हो ?’

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो ।

‘आज पनि बूढानीलकण्ठ गा’को छ, भोलि पनि त्यहीँ गा’को छ, हो न हो पानीमाथि सुतिरहनुभएको बूढानीलकण्ठको दर्शन गर्न जानुभयो होला भनेको त, उहाँहरू त सुतिरहेको बूढानीलकण्ठभन्दा अलि तल बसिरहेको बूढानीलकण्ठमा पो धाएर हजुर सरकार चलाइदिनुपर्‍यो भनेर सरकार बुझाउन पो जानुभएको रहेछ‘, महामन्त्री शर्माले भने, ‘यदि जनताले बहुमत नै दिए पनि बूढानीलकण्ठमा लगेर सरकार बुझाउनुपर्छ भने सिधै कांग्रेसलाई नै रोजे भैगयो नि ’ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवा नेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले सम्बोधन गरेको काँग्रेस मध्यपुरथिमि – १ का वडा सचिव सुरेश बस्नेतले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार