देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एसपीपीमा सहभागी हुन नेपालले दिएको आवेदन दुईबर्ष पहिल्यै स्वीकृत भइसक्यो – अमेरिका

0

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन दुई पटक गरेको अनुरोधलाई स्वीकृत गरिसकेको बताएको छ ।

अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र हाल सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको प्रतिक्रिया दिएको छ ।

बुधबार पत्रकारहरुसँग कुरागर्दै नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक राजदूत मानुअल मिकलरले सन् २०१५ र २०१७ मा गरी दुईपटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिएका हुन् ।

कार्यबाहक राजदूत मिकलरले एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने बताए । उनले एसपीपी कहिल्यै पनि कुनै सुरक्षा वा सैन्य गठबन्धन नरहेको भन्दै विगत २५ वर्षदेखि द्विपक्षीय फाइदालाई मध्यनजर गरेर एसपीपीले काम गरिरहेको बताए ।

‘एसपीपी विशेषत द्विपक्षीय सम्बन्ध तथा दुई देशका नागरिकहरूको सम्बन्धमा केन्द्रित छ’, उनले भने, ‘विद्यार्थी तथा व्यावसायिक आदानप्रदान, कूटनीतिक संलग्नता, सैन्य साझेदारी र व्यापारसहित साझा मान्यतामा आधारित रहेर यसले काम गर्छ ।’ उनले सन् २०१९ मा नेपाली सेना र अमेरिकाको नेसनल गार्डबीच साझेदारीको टुंगो लागे पनि त्यसअन्तर्गत खासै काम नभएको जानकारी दिए ।

अमेरिकी दूतावासका एक वरिष्ठ अधिकारीका अनुसार पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागिताका लागि दुई पटक आवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपाल र श्रीलंकालाई एसपीपीमा जोडेको र सोही वर्ष इन्डोप्यासिफक स्ट्राटेजीको प्रतिवेदनमा समेत राखेको थियो ।

अमेरिकी सेनाको एसिया प्यासेफिक क्षेत्र हेर्ने कमान्डका जर्नेल चाल्र्स एन्थोनी फ्लिनले नेपाल भ्रमण गरेर फर्किएसँगै नेपालमा एसपीपीको विषयलाई लिएर विवाद सुरु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार