देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओमिक्रोन सामान्यतः तीनदेखि पाँच दिनमा निको

0

काठमाडौँ – कोभिड–१९ को तेस्रो लहरमा संक्रमित भएकाहरू सरदर तीनदेखि पाँच दिनमा निको भएको विज्ञहरूको भनाइ छ । खोप नलगाएका र पूर्ण मात्रा लिएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा केही जटिलता देखिएको छ ।

पछिल्लो भेरिएन्ट ओमिक्रोनले धेरैजसोको फोक्सो नभई माथिल्लो श्वासनलीमा संक्रमण गराएर घाँटीमा खसखस, खोकी व्यापक रूपमा गराए पनि यसपटक अस्पताल भर्ना भएकालाई खासै बढी अक्सिजनको आवश्यकता परेको छैन । संक्रमितलाई ज्वरोसमेत निम्नमध्यम स्तर अर्थात् सरदर ९९ डिग्री सेल्सियसदेखि १०० डिग्री सेल्सियससम्म आएको छ ।

पहिलो र दोस्रो लहरताका संक्रमितहरू सामान्यतः १० दिनदेखि १४ सम्ममा निको हुने गरे पनि हाल औसत ३ देखि ५ दिनसम्ममा निको हुने गरेका छन् । यस्तै दोस्रो लहरको दाँजोमा अस्पताल बसाइको अवधिमा समेत कमी आएको छ ।

‘हाल खोप नलगाएका वा पूर्ण मात्रा लगाएको ६ महिनाभन्दा बढी समय भएकाहरू मात्र तेस्रो लहरको संक्रमणमा गम्भीर बिरामी भएको देखिएको छ,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा.प्रज्ज्वल श्रेष्ठले भने, ‘अब दुई मात्रा खोप लगाएर पुगेन, ६ महिनाभन्दा बढी भएकालाई जटिलताबाट जोगाउन बुस्टर डोज आवश्यक देखिएको हामीकहाँ भर्ना भइरहेका बिरामीको मेडिकल हिस्ट्रीले देखाएको छ ।’ उनका अनुसार अस्पतालमा भर्ना भएकामा दुई मात्रा खोप लगाएको ६ महिना नाघिसकेकामा जटिलता देखिएको छ ।

अहिले वीर अस्पतालमा भर्ना रहेका ५२ जना बिरामीमा झन्डै ३८.४६ प्रतिशत अर्थात् २० जना कोभिडविरुद्धको खोप नलगाएका छन् । ६१.५३ प्रतिशत अर्थात् ३२ जनाले एक मात्रा र ५३.८४ प्रतिशत अर्थात् २८ जनाले दुई मात्रा खोप लगाएका छन् । मुलुकमा पहिलो र दोस्रो लहरताका रुघाखोकीको लक्षण भएकालाई कोभिड नभएको बुझिने गरिए पनि तेस्रो लहरमा सबैजसो संक्रमितमा रुघाखोकीको लक्षण देखिएको डा. श्रेष्ठले बताए । यसबाहेक निम्नमध्यम स्तरको ज्वरो, घाँटी दुखाइ, तीव्र जीउ, टाउको दुखाइसमेत लक्षणका रूपमा देखिएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमणले भर्ना रहेका ३७ जना बिरामीमध्ये धेरैजसोलाई फोक्सोमा असर गरेको छैन । निमोनिया भएकालाई पनि ‘लो–फ्लो’ अक्सिजनले नै काम चलेको छ । खोप नलगाएका, बूढापाका दीर्घरोगी र एकभन्दा बढी रोग भएकामा जटिलता बढी देखिएको छ । भर्ना रहेकामध्ये करिब २५ प्रतिशतलाई फोक्सोमा असर (निमोनिया) देखिएको औंल्याउँदै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले भने, ‘दोस्रो लहरमा भर्ना भएकामध्ये करिब ९० प्रतिशतसम्मलाई दुवै फोक्सोमा निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया भएकालाई २ लिटरदेखि ६ लिटरसम्म प्रतिमिनेट लो–फ्लो अक्सिजन दिनुपरेको छ । केही बिरामीलाई निमोनिया भए पनि अक्सिजन चाहिएको छैन ।’

दोस्रो लहरमा शिक्षण अस्पतालमा भर्ना रहेका निमोनिया भएका बिरामीलाई ‘नन रिब्रिदिङ मास्क (एनआरएम)’, १५ लिटर प्रतिमिनेट हाई–फ्लो केनुलाबाट करिब ६० लिटरदेखि ८० लिटरसम्म अक्सिजन प्रतिमिनेट दिनुपरेको थियो । त्यसताका अस्पताल भर्ना हुनेलाई निको हुन सामान्यतः १० दिनदेखि दुई सातासम्म लाग्ने गरेको थियो । वीर अस्पतालमा भर्ना रहेका ५२ जनामध्ये ७५ प्रतिशत अर्थात् ३९ जनालाई फोक्सोमा सामान्य खालको असर देखिएको छ । ३५ जनालाई अक्सिजन चाहिए पनि धेरै कम परिणाम अर्थात् प्रतिमिनेट १ लिटरदेखि २ लिटरसम्म अक्सिजन दिइएको छ ।

पहिलो र दोस्रो लहरको दाँजोमा हाल भर्ना भएकाको अस्पताल बसाइ अवधिमा समेत कमी देखिएको छ । ‘अहिले धेरैजसो पहिलो र दोस्रो लहरभन्दा केही पृथक् ओमिक्रोनको लक्षण लिएर अस्पताल आइरहेका छन् र छिटो निको भइरहेका छन्,’ डा.दासले भने, ‘सामान्य र मध्यम लक्षण देखिएका करिब ९० प्रतिशतभन्दा बढी घरकै सामान्य स्याहारमा निको भइरहेको आकलन छ ।’

तेस्रो लहरसँग जुधिरहेका नेपाली खोपले गर्दा पहिलो र दोस्रो लहरको दाँजोमा बढी सुरक्षित रहेको औंल्याउँदै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाहले भने, ‘आधा जनसंख्याले कम्तीमा एक मात्रा खोप लिएकाले अस्पताल भर्ना कम भइरहेको छ भने संक्रमणको गम्भीरता र मृत्युसमेत नगन्य छ ।’

दोस्रो लहरमा कोभिड निको भएपछि समेत काम गर्दा स्याँस्याँ हुने, खोकी जारी रहने, कमजोरीलगायतका लक्षण देखिएको थियो भने तेस्रो लहरमा निको भएकामा पिठ्युँ, कम्मरलगायत शरीरको दुखाइ र थकाइ देखिएको छ । ‘बिरामीले संक्रमणताका र निको भएपछि समेत यस्तो दुखाइ, थकान अनुभव गरिरहेका छन्, यसो हुनुको वास्तविक कारण भविष्यमा हुने अध्ययन अनुसन्धानबाट थाहा हुन्छ,’ शाहले भने ।

दोस्रो लहरमा संक्रमणपछि स्वाद र गन्ध हराउने समस्यासमेत देखिए पनि तेस्रो लहरमा यो समस्या खासै देखिएको छैन । तेस्रो लहरमा खोप लगाएकाका लागि हलुका सुरक्षा देखिए पनि नलगाएकाका लागि यो संक्रमण खतरनाकसमेत हुन सक्ने उनले बताए । राजधानीका ठूला अस्पतालमा उपचाररत बिरामीको जस्तै स्थिति उपत्यकाबाहिरको स्वास्थ्य निकाय पुग्नेमा समेत देखिएको छ ।

अधिकांशले संक्रमण थाहा पाएको दुई–तीन दिनमै सास फेर्न गाह्रो भएको, स्वाँस्वाँ भएको गुनासो नगर्ने गरेको औंल्याउँदै सेती प्रादेशिक अस्पतालका कोभिड उपचार प्रमुख एवं मेडिसिन विभाग प्रमुख डा.शेरबहादुर कमरले भने, ‘सास फर्न गाह्रो हुने, अक्सिजनको आवश्यकताजस्तो समस्या हालसम्म खासै देखिएको छैन । अधिकांशमा रुघाखोकीजस्तो लक्षण लिएर आइरहेका छन् ।’ कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार