देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

0

(काठमाडौं) – स्वास्थ्य सेवा विभागले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ । विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको बताए । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको भन्दै त्यस सामानले केही समयका लागि पुग्ने भएकाले थप सामग्री ल्याउनका लागि सरकारले बिहीबारदेखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि उनले जानकारी दिए । उनले भने, ‘भोलि नै हामीले पुरानो सूचना अनुसार ठेक्का आवेदन दिएका व्यापारीलाई बोलाउन सूचना जारी गर्ने छौं। कति सामान उनीहरूले दिन सक्छ सोध्छौं। सकेन भने नयाँ सूचना आह्वान गर्छौं ।’

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको थिए ।

कुनै पनि अस्पताललाई मेडिकल सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामग्रीको अभावमा बिरामीको उपचारमा सम्झौता नगर्न पनि अनुरोध गरे । सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनी मार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको थियो । सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार