देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओली निकटको गोप्य जुम भेला, पार्टी एकता नै गलत भएको निष्कर्ष

0

काठमाडौं – पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गोप्य भेलाको आयोजना गर्न थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण ओली पक्षले जुम मिटिङमार्फत् आफ्ना कुरा राख्न थालेको हो ।

स्रोतका अनुसार ओली समूहले आज प्रदेश नम्बर एकको कमिटी स्तरीय भेला आयोजना गरेको थियो । भेलामा प्रधानमन्त्री केपी शर्मा ओली र भर्खरै प्रधानमन्त्री कार्यालय हेर्नेगरी जिम्मा पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेको खुलासा भएको छ । सम्बोधनका क्रममा पोखरेलले प्रदेश नम्बर एकका सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय तुल्याउन निर्देशन दिएका थिए ।

भेलामा पूर्वएमालेका कतिपय नेताले भेलामा पार्टी एकता नै गलत भएको पनि निष्कर्ष निकालेका थिए । त्यसको जवाफ पनि पोखरेलले दिएका छन् । उनले देशभरिको चाहना सम्बोधन गर्न एकता गरेको बताएका थिए । “कार्यकर्ताको चाहना पनि दुईवटा कम्युनिस्ट पार्टी मिलोस् भन्ने थियो,” पोखरेलले भनेका थिए, “जनताको चाहना पनि त्यही थियो । मुलुकले राजनीतिक अस्थिरता भोग्दै आएको थियो । प्रगतिशील, वामपन्थी शक्ति एकताबद्ध भएर राजनीतिक स्थायीत्व दिने राष्ट्रिय आवश्यकता पूरा गरेका हौं ।”

पोखरेलको निर्देशन २६ गते सकिएको स्थायी कमिटी बैठकको निर्णयविपरीत हो । स्थायी कमिटी बैठकले नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय गरेको थियो ।

पोखरेलले भेलामा जनताको बहुदलीय जनवाद नै पार्टीको विचार हुनुपर्ने धारणा राखेका थिए । नेकपा अहिले विचारमा प्रष्ट नभएको र त्यसको पूर्ति जबजले मात्रै गर्न सक्ने उनको भनाइ थियो । “विचारमा प्रष्ट भइएन भने हामी ठीक ढङ्गले अघि बढ्न सक्दैनौं । यो विचारमा स्पष्टताको कुरा गरिरहँदा हाम्रो विचार जनताको बहुदलीय जनवादबाट निर्देशित हुने हाम्रो निष्कर्ष हो, त्यसलाई कहिले नि कमजोर ढङ्गले समात्न हुँदैन । अहिलेको पार्टी एकतापछि केही समयका लागि हामीले वास्तवमा महाधिवेशनसम्मका लागि अन्तरवस्तुमा जनताको बहुदलीय जनवाद रहे पनि जनताको जनवाद बोकेका हौं । साँचो कुरा के हो भने आज हामी निर्देशित भएको विचार जनताको बहुदलीय जनवाद नै हो । त्यही कुरालाई समातेर हामी अगाढि बढ्छौं ।”

मन्त्रिपरिषद् हेरफेरका सन्दर्भमा पनि पोखरेलले प्रष्ट पारेका थिए । पार्टी अध्यक्ष प्रचण्डले आफूले चाहेका केही मन्त्री हटाउन नपाएपछि एकलौटी गरेको भन्ने आरोप लगाएको पनि बताएका थिए । उनले अब पुनर्गठन हुँदा दुईवर्ष अवधि पुगेका प्रायः हटाइने पनि जानकारी दिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार