देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओली समूहद्वारा खोसियो दाहालको कार्यकारी हैसियत

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी अधिकार खोसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिहीबारको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहालको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । यद्यपि, दाहालको नाम अध्यक्षमा भने कायम छ ।

असन्तुष्ट पक्षका नेतालाई कुनै कारबाही नगर्ने बताउँदै उनीहरुको नामसहित विस्तारित केन्द्रीय कमिटीको नामावाली निर्वाचन आयोगमा बुझाएको ओली पक्षले त्यसको २ दिनपछि दाहाललाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गरेको छ ।

यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । श्रेष्ठलाई पनि पार्टीबाट हटाइएको छैन । यो समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ ।

ओली पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष दाहालले कार्यकारीको जिम्मेवारी बहन गर्न नसकेको निष्कर्ष निकालेको थियो । ओली पक्षले आजै अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

बिहीबारकै बैठकले दाहाल–नेपाल समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् ।

यस्तै, ओली समुहले सातै प्रदेशमा पार्टी इन्चार्च तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार