देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा १२ को परीक्षाका लागि पाँच मोडालिटी तयार

0

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ । त्यस्तै ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने, कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने र कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने मोडालिटीको विषयमा छलफल गरेको छ ।

बोर्डले विद्यालयले परीक्षा दिएको प्राप्ताङ्क सम्परीक्षण गर्ने, आवश्यक परेको आधारमा धेरै नम्बर दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी पुनः प्राप्ताङ्क दिने अधिकार बोर्डले लिएर गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पाँच मोडालिटीको विषयमा छलफल भएपछि कुन आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । बोर्डले देशैभरका शिक्षक, प्रदेश परीक्षा प्रमुख, विज्ञ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ, संगठन, महासंघलगायत निकायसँग छलफल गरिसकेको छ । बोर्डले विद्यार्थी संघ, संगठन, हिसान र केही प्रतिनिधिमूलक संघसंगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको छ ।

कक्षा ११ को परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकाले बोर्डले नै लिने निर्णय गरेको थियो । बोडले सल्लाह गरेका केही विज्ञले अहिले नै परीक्षा गर्न आत्तिनु आवश्यक नभएको तर्क राखेका थिए । कसैले अनलाइन त कसैकसैले खण्डखण्ड गरी परीक्षा लिन सुझाएका थिए । बोर्डले सबैको सुझाव संकलन गरी लेख्ने काम गरिरहेको र केही दिनभित्र मन्त्रालयमा बुझाउन तयारी गरेको छ ।

विश्वविद्यालयले समेत कुनै परीक्षा गर्न नसकेको अवस्थामा हतारमा परीक्षा गर्न नहुने सुझाव आएपछि बोर्डले दशैंअघि परीक्षा नगर्ने मनस्थिति बनाएको छ । अधिकांशले होम सेन्टर गरी परीक्षा गर्न सुझाव दिएका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार