देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा १२ को परीक्षा मंसिर दोस्रो साताबाट गर्ने तयारी

0

काठमाण्डौं – गत बैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसिर दोस्रो साता हुने भएको छ । सरकारले परीक्षा सञ्चालनका लागि सहमति दिएपछि आगामी ९ वा १० मंसिर बाट सुरु गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकमा सहमति भएको हो ।

विद्यालय तहको अन्तिम परीक्षा भएको र ठुलो संख्या विद्यार्थी सहभागि हुने भएकाले शिक्षा मन्त्रालयले मन्त्रिपरिषदको बैठकमा छुट्टै प्रस्ताव लगेको थियो । मन्त्रिपरिषदबाट स्वास्थ्य सुरक्षाको बिधि अपनाएर परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएपछि बोर्ड बैठकमा मंसिर दोस्रो साता परीक्षा सुरु गर्ने सहमति भएको हो । बोर्डले तत्कालै सुरु मिति तय गरी परीक्षा तालिका सार्वजनिक गर्दैछ ।

होमसेन्टर कायम गरी परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । विद्यार्थीले आफैले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था हुने उनले बताए । ‘हामीले विद्यार्थी कहाँ छन भन्ने पहिचान गरेका छौं, पढेको विद्यालय रहेको जिल्ला भन्दा बाहिर रहेका र विद्यालय पुग्न नसक्नेका लागि त्यहिँ ठाउँमा पनि परीक्षा लिने व्यवस्था गर्छौँ,’ अध्यक्ष पौडेलले भने, ‘अहिले पनि अधिकांश विद्यार्थी आफुले पढेको जिल्लामै रहेको पाइएको छ, काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ ।’ बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ ।

कोरोना संक्रमणको जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षासम्पन्न गर्न विकल्पसहितको प्रतिबेदन सरकारलाई बुझाएको थियो । राष्ट्रिय परीक्षा बोर्डले चरणवद्धरुपमा परीक्षा सञ्चालन गर्ने, ओपन बुक प्रणाली, त्यसमा पनि कक्षा ११ को नतिजालाई केहि आधार मान्ने गरी परीक्षा लिने, अनलाइन प्रणालीबाट परीक्षा लिनेलगायतका विकल्पसहितको प्रतिबेदन बुझाएको थियो ।

बोर्डले ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिने भएको हो । ४० प्रतिशत मुल्याङकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत प्रयोगात्मक परीक्षा वा आन्तरिक मुल्याङक्न हुने गरी कार्यबिधि तयार भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । यसरी लिइने परीक्षाको समय डेढ घण्टाको हुनेछ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गर्दैछ । सकेसम्म सबै पाठ्यक्रमलाई समेट्ने प्रयास हुने पौडेलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार