देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कमरेडहरु के भन्छन्,के गर्छन् ?

0

काठमाण्डौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट बिस्तारै कर्नरमा पारिनुभएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो भूमिका र हैसियतको लागि नयाँ रणनीति बनाउन थाल्नुभएको बताइन्छ । पार्टीभित्र आफ्नो ‘पोजिशन क्लियर’ गर्न उहाँले तीन वटा विकल्पको रणनीतिलाई आवश्यकताअनुसार अघि सार्ने निकटस्थहरूले बताएका छन् । सबैभन्दा पहिलो प्रयासमा सकेसम्म अहिलेको समिकरणलाई सहमतिमै अघि बढाउने गरी प्रधानमन्त्री तथा अध्यक्षलाई यथावत राख्ने अथवा उहाँलाई पदबाट च्यूत गर्ने र पार्टी एकतालाई कायम राख्दै अघि बढ्ने रहेको बताइन्छ ।

दोस्रो विकल्पमा प्रधानमन्त्रीले पार्टी फुटाएर गएपछि त्यसपछि कायम रहने नेकपामा कुनै हालतमा पूर्व माओवादी र पूर्व एमाले भन्ने भावना र अवस्था नरहने गरी कार्य अघि बढाउने । त्यत्ति गर्दा पनि कारणवश वरिष्ठ नेता माधव नेपाल समूहले समेत साथ नदिएको अवस्थामा सदन छाडेर सडकमा जाने योजना बनाइएको छ । स्रोतका अनुसार त्यतिबेला पर्यो भने पूर्व माओवादीका सबै माननीयलाई संसदबाट फिर्ता बोलाइने छ । दुई वर्षको हाराहारीसम्म जनताको घरदैलोमा पुगेर ओली सरकारका कमजोरीहरुको भण्डाफोर गर्दै त्यसपछि हुने निर्वाचनमा बहुमत ल्याउन कोशिश गर्ने विकल्प नै कार्यकारी अध्यक्षको अन्तिम रोडम्याप भएको बताइन्छ ।

तर,त्यसो गर्दा स्वयम् दाहालसँग कतिजना सांसद पछि लाग्छन् भन्ने विषयमा खुमलटारले आँकलन नै नगरेको बालुवाटारको दाबी छ । बालुवाटार स्रोत भन्छ ‘पछिल्ला दिनमा मन्त्री पदको लागि समेत लाम लागेर बालुवाटार धाउनेहरूले हुँदाखाँदाको सांसद पद सर्लक्क छाडेर खुमलटारतिर दौडने कल्पना पनि गर्न सकिँदैन ।’

यता,आज चार बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्षले ‘स्थायी समितिको निर्णय कार्यान्वयन गर्छु,म मान्छु,यसअघि भएका गल्ति कमजोरीहरूलाई सच्याउँछु’ भनेर बोल्ने रणनीति बालुवाटारले बनाएको बुझिएको छ । स्थायी समितिको निर्णय कार्यान्वयन गर्छु भन्दा पार्टीका अन्य नेताले आफूमाथि पूर्वाग्रह ढंगले पेल्ने काम गरेको अर्थ लाग्ने भएकाले सोही किसिमले प्रस्तुत हुने रणनीति बनेको हो ।

त्यसैगरी,बैठकमा उपाध्यक्ष वामदेव गौतमको भूमिका र प्रस्तुतिलाई हेरेर बालुवाटारले आफ्नो पूर्ववत् रणनीतिमा परिवर्तन हुनसक्ने विषयमा पनि आवश्यक गृहकार्य गरेको छ । सर्वोच्चको पछिल्लो आदेशबाट मन्त्री बन्ने बाटो खुलेपछि गौतमलाई आफ्नो पक्षमा पार्न एक हदसम्म सजिलो हुने भएकाले अधिकतम फकाउने बालुवाटारको रणनीति छ ।तर,गौतमले भने सचिवालयका नेताहरुसामु अब ओलीको चास्नीमा नपर्ने बताइसक्नुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले सचिवालय तथा स्थायी समिति बैठकको सामना नगरी टिचिङ्ग हस्पिटलको कम्पाउण्ड र संखुवासभाको किमाथाङ्का डाँडामा गएर राजीनामाको प्रसङ्ग कोट्याउनुलाई पार्टीभित्र सर्वथा अनुचित ठानिएको छ । राजीनामालगायतका विषय उठेको र आवश्यकताअनुसार उठाउने जिम्मेवार निकाय भनेको पार्टीको सचिवालय र स्थायी समिति हो । तर,बहुमत सदस्यले बैठक बोलाउन जति कोशिस गरेपनि नबोलाउन कस्सिनुभएका प्रधानमन्त्री असान्दर्भिक कार्यक्रम र स्थानमा आफ्नो राजीनामाको प्रसङ्ग उठाउँदै गर्जनुलाई राजनीतिक रूपमा पनि स्वाभाविक मानिएको छैन ।

बैठक बोलाउन आनाकानी गर्ने,बोलाइ हाले पनि विषयवस्तुमा सवाल जवाफ नगर्ने तर,किमाथांकाका सोझा नागरिक र टिचिङ्ग हस्पिटलका चिकित्सक तथा नर्सको सामुन्ने राजीनामा दिन्न भनी हिंड्नुको औचित्य नै पुष्टि नहुने बताइन्छ । हुन तः पार्टीमा पनि पछिल्लो दिनमा उहाँको राजीनामा मागिएकै छैन । तर,सन्दर्भहीन स्थान र कार्यक्रममा राजीनामाको प्रसङ्ग कोट्याउनुले नजर किधर,निशाना किधरको उखान सम्झाइदिएको पर्यवेक्षकहरुको टिप्पणी रहेको खबर आजको जनआस्थामा पेरकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार