देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु

0

जाजरकोट – कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयबासी खुशी भएका छन् । वर्षेनी कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयबासीले खुशी व्यक्त गरेका हुन् ।

दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मंसिरीका तेजबहादुर सिंहको विश्वास छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो । दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै यहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीबासीको अपेक्षा छ ।

“कर्णाली प्रदेशमा देखिएको समस्या केही हदसम्म नयाँ कार्यक्रमले हल गर्नेछ । जनशक्ति पनि आवश्यकतानुसार परिचालन गरिनेछ,” स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य शुरु भइसकेको छ ।

जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य शुरु भएको हो । मन्त्रालयले कर्णालीका रुकुम, सुर्खेत, सल्यान, दैलेख र जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ । त्यस्तै प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल शुरु भएको छ ।

सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट वितरण गरेको थियो । चालू आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख छ । सोहीबमोजिम स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन् ।

गत वर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ । कार्यविधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५/७६ मा एक हजार २०० वडामा र चालू आवमा एक हजार ३९० गरी जम्मा दुई हजार ५९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्यविधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो ।

स्वीकृत कार्यविधिबमोजिम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था रु पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान रु ६३ लाख ४६ हजार ६३० र टाइप २ को रु ३८ लाख ८६ हजार ९२० निकासा गरेको छ ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार