देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसमा कोइराला समूहको निष्कर्ष- ‘अब पार्टीमा भाग माग्ने, नदिए सशक्त प्रतिरोध गर्ने’

0

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनको ४० प्रतिशत मतको अस्तित्व स्वीकार गर्न नचाहेको निष्कर्ष निकालेको छ । कोइराला समूहले अब पनि सभापति देउवा एकलौटी अघि बढ्न खोजे त्यसको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ । महाधिवेशनपछि सभापति देउवाले पार्टीका सबैजसो निर्णयमा आफूलाई मतदान नगर्ने नेता कार्यकर्तालाई किनारा लगाउने गरी निर्णय गरेको कोइराला समूहको निष्कर्ष छ ।

यसअघि महाधिवेशन लगत्तै सभापतिका उम्मेदवार काेइरालाले पार्टीमा भागबन्डा नमाग्ने र गुट नचलाउने भनेका थिए । तर, बुधबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले यसअघि सभापतिलाई सघाउने गरी गुटबन्दी नगर्ने र भागबण्डा नमाग्ने भनेको भएपनि सभापतिले पार्टीमा सबै नेता कार्यकर्तालाई न्याय गर्न नसक्ने देखिएकाले अब भाग माग्ने र नदिए त्यसको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो ।

‘महाधिवेशनपछि सभापतिबाट जे–जति मनोनयन, नियुक्ति र गतिविधि भए, ती सबैमा सभापतिबाटै गुटबन्दी गर्ने काम भएको छ, हाम्रो अस्तित्व स्वीकारिएको छैन, बरू हामीलाई विभिन्न बाहनामा किनारा लगाउन खोजिएको छ,’ कोइराला समूहका एक पदाधिकारीले भने, ‘हामीले सभापतिलाई सजिलो होस् भनेर भाग माग्दैनौँ भनेका हौँ, सभापतिबाट न्याय नभएपछि हाम्रा मतदाता हामीले नै जोगाउनैपर्ने भयो, त्यसैले अब हामी पार्टीमा भागबण्डा माग्ने, नदिए त्यसको सशक्त प्रतिरोध गर्ने निर्णयमा पुगेका छौँ ।’

सभापति देउवाले पार्टीका निर्णय प्रक्रियामा आफूहरूसँग कुनै परामर्श र छलफल नगरेको कोइराला समूहका नेताहरूको बुझाई छ । बुधबार विहान मात्रै नेता कोइरालाले देउवासँग संवाद गरेर भ्रातृ संस्थाको तदर्थ समिति गठनदेखि पार्टीले गर्ने सबै निर्णयमा छलफल गरेर निर्णयमा पुग्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिएका थिए ।

कोइरालाले बुधबारै दिउँसो बसेको आफ्नो समूहका नेताहरूसँगको बैठकमा सभापतिलाई भ्रातृ संस्थाको तदर्थ समिति गठन र संसदीय समिति गठन गर्दा सल्लाह गरेर सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्न सुझाव दिएको र केन्द्रीय समिति बैठकअघि भेटेर त्यसबारे छलफल गर्ने भनेको बिफ्रिङ गरेका थिए ।

तर, बैठक नसकिदै देउवाले १० भ्रातृ संस्थामध्ये सबैभन्दा महत्वपूर्ण नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्धान गुरुङलाई नियुक्त गरे । त्यो सुनेपछि कोइराला समूहका नेताहरू चकित परेका थिए । ‘सबै भ्रातृ संस्थामा एकैपटक मनोनयन गर्ने, पूरा कार्यसमिति गठन गर्ने र त्योभन्दा महत्वपूर्ण कुरा आसन्न निर्वाचनमा असर नपर्ने गरी सबैलाई समेटेर भ्रातृ संस्थाहरू गठन गर्नुपर्ने कुरा उहाँले राख्नुभएको थियो,’ एक नेताले इकान्तिपुरसँग भने, ‘तर, त्यो कुरालाई बेवास्ता गर्दै सभापतिजीले एकलौटी ढंगले अघि बढ्नुभएछ ।’

देउवाले केन्द्रीय सदस्य मनोनयन, राष्ट्रिय सभामा टिकट वितरणदेखि भ्रातृ संस्थामा मनोनयनसम्म न्यायपूर्ण सम्बोधन नगरेको कोइराला पक्षको आरोप छ । नेता कोइरालालाई वरियतामा तेस्रो नम्बरमा राख्नुपर्ने कोइराला समूहको माग छ । तर, देउवाले त्यो पनि स्वीकारेका छैनन् । ‘पार्टीमा वरिष्ठताको आधारमा रामचन्द्रजी दोस्रो नम्बरमा हुनु स्वभाविक हो, तर महाधिवेशनमै सभापतिमा ४० प्रतिशत मत पाएर पराजित नेतालाई तेस्रो नम्बरमा राख्न हिच्काउनुको कारण के हो ?,’ कोइरालानिकट एक नेताले भने, ‘पार्टीको हरेक निर्णयमा आफ्ना मतदातालाई काखा, अरुलाई पाखा गर्ने नीति अवलम्बन भएको छ ।’

देउवाले केन्द्रीय समितिमा मनोनयन गर्दा आफ्नो समूहबाट पराजित सहमहामन्त्रीसमेतलाई मनोनीत गरिसकेका छन् । तर, कोइराला समूहका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी र महामन्त्री उम्मेदवार मिनेन्द्र रिजाललाई भने केन्द्रीय सदस्य समेत मनोनीत गरेका छैनन् । केन्द्रीय सदस्य बलबहादुर केसीले सभापतिले पार्टीभित्र छलफल नगरी एकलौटी गर्न नमिल्ने बताए ।

‘सत्ता गठबन्धन, भ्रातृ संस्थामा मनोनयन र संसदीय समिति गठन लगायत विषयमा बैठकमा छलफल भयो, हामी छलफलमै छौँ,’ उनले भने, ‘अहिले यी सबै कुरामा सभापतिले पार्टीभित्र सबैसँग छलफल नगरी एकलौटी ढंगले अघि बढ्नुहुदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

नेताहरूका अनुसार आसन्न तीन तहकै चुनावमा सभापतिले एकलौटी गरे आफ्ना पक्षमा नेताहरूलाई टिकट पाउन समेत मुस्किल हुने भन्दै त्यसकालागि राण्नीतिक रुपमा तयारी अघि बढाउनुपर्ने माग उठेको छ ।

सभापति देउवाले स्थानीय चुनावको तयारी र संसदीय समिति गठनको विषयमा छलफल गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । सभापति देउवाले बैठकबाट चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा समेत निर्णय गराउने तयारी गरेका छन् । तर, कोइराला पक्षले भने केन्द्रीय कार्यसमितिले त्यसबारे निर्णय लिन नमिल्ने निष्कर्ष निकालेको छ ।

बुधबारको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु शिवाकोटी, सञ्जय गौतम, प्रतिमा गौतम लगायत सहभागी थिए । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार