देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसमा बलियो पकड बनाउँदै गगन थापा

0

काठमाडौं – कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन्।

पार्टीको १४औं महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन्।

पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ। करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ।

जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने कांग्रेसले जनाएको छ।

यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन्।  नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन्।

पार्टीको १४औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए। उच्चस्तरीय छलफलमा सहभागी भएको हिसावले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ।

सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो। १४औं महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन्। थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन्।

२०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए। २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए। २०७० र २०७४ सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार