देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै

0

रासस/काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्य्विधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको पार्टीले जनाएको छ । सङ्गठनमा महत्वपूर्ण मानिने काँग्रेसका क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (काँग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरी काँग्रेसमा समायोजना भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिने उनले बताए । यो सबै जोड्दा क्रियाशील सदस्यता आठ लाख बढी हुनेछ । लोकतान्त्रिक फोरमले मात्र करिब २५ हजार नयाँ क्रियाशील सदस्यता माग गरेको छ ।

समायोजनको काम नसकी क्रियाशीय सदस्यता वितरण गर्न नपाइने भएकाले स्थानीयस्तरमा समायोजन सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई दबाब बढ्ने पार्टी कार्यालयको आँकलन छ । अबको दुई÷चार दिनमा समायोजन सकिने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पार्टी कार्यालयले बिहीबारदेखि फारम वितरण शुरु गरिसकेको छ । केही जिल्ला सभापतिले आवश्यक कागजात लगिसकेको उनले बताए ।

काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण आज (फागुन १६ गते) देखि शुरु गरी आगामी चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि मात्र विधानका केही दफा निलम्बनसमेत गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार