देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस महाधिबेशन – कोइराला परिवार छिन्नभिन्न

0

काठमाडौं – कोइराला परिवारका तीन नेताले २०७४ माघ २ मा कांग्रेसमा ‘विरासत’ फर्काउने उद्घोष गरेका थिए। डा. शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाबीचको छलफल पुनः कोइराला परिवारको शक्ति फर्काउने निष्कर्षमा टुंगिएको थियो। त्यसपछि पनि यी तीन नेताले विभिन्न कार्यक्रममा कोइराला परिवार एक रहेको बताउन छाडेनन्। २०७५ भदौ १० गते विराटनगरमा एउटै माला पहिरिएर एक भएको सन्देश दिए। त्यतिबेला सुजाताले भनेकी थिइन्, ‘कसैले टाउको दुखाउनु पर्दैन। हामी तीन एकै थियौं। एकै छौं र एक रहनेछौं।’

कोइराला परिवारका तेस्रो पुस्ताका शेखर, सुजाता र शशांकले धेरै पटक एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक गरेर एक रहेको सन्देश दिएका थिए। जसमा सुजाताको पहल मुख्य थियो। तर, उनै सुजाता शनिबार सिंहको प्यानलबाट उम्मेदवार बनेकी हुन्। जो यसअघि पटकपटकका बैठक, छलफल र भेटमा शेखरलाई सभापतिमा प्रस्ताव गर्थिन्।

शेखरको प्यानल उम्मेदवारी दर्ता गर्न जानुअगावै सिंहले सभापति, सुजाताले उपसभापति र शर्माले महामन्त्रीमा उम्मेदवारी दिइसकेका थिए। उम्मेदवारी दिएर फर्किंदै गर्दा सुजाताले भनिन्, ‘कांग्रेसको रूपान्तरण प्रकाशमानबाट मात्रै सम्भव छ।  महिलालाई पनि सम्मान गर्नुहुन्छ। त्यसैले उहाँको टिमबाट उम्मेदवारी दिएकी हुँ।’

इतिहास हेर्दा कांग्रेसमा की वंश परम्परा र की वरिष्ठताका आधारमा नेतृत्व चयन हुने गरेको छ। लामो समयसम्म कांग्रेसमा कोइराला परिवार नेतृत्वमा रह्यो। विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ गरी कोइरालाहरूले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे। सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा वरिष्ठताका आधारमा नेतृत्वमा पुगे।

कोइराला परिवार छिन्नभिन्न भएको यो पहिलो पटक भने होइन। २००९ जेठ १०–१३ सम्म जनकपुरमा भएको पाँचौं महाधिवेशन विश्वेश्वरप्रसाद र मातृकाबीच विवाद हुँदा पार्टी नै फुटेको थियो। यो महाधिवेशनबाट विश्वेश्वरप्रसाद सभापति चयन भए। पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा सम्पन्न महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेरलगायत नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो। २०५३ सालमा नवौं महाधिवेशनमा पनि कोइराला परिवार एक हुन सकेनन्। गिरिजाप्रसाद कोइरालाले विजयकुमार गच्छादारलाई केन्द्रीय सदस्यमा समर्थन गरेपछि विश्वेश्वरपुत्र प्रकाशले बागी उम्मेदारी दिएर पराजित भए। २०४६ सालको आन्दोलनमा परिवर्तनविरोधी अभिव्यक्ति दिएपछि नै प्रकाश कांग्रेस राजनीतिमा जम्न नसकेका हुन्।

कोइराला परिवार फुट्नु नौलो नभएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। ‘कोइराला परिवारको फुट पहिलो पनि होइन र अन्तिम पनि होइन,’ उनी भन्छन्, ‘तर यो महाधिवेशनमा भएको विभाजनले विशेष अर्थ राख्छ। कांग्रेस पार्टीका लागि यो राम्रो भएन।’

व्यक्तिगत महत्वकांक्षाका कारण तीन नेताले एक अर्कालाई स्विकार्न नसकेको उनको भनाइ छ। ‘शेखर, सुजाता र शशांक तीनै जनामा पछिल्लो समय को सिनियर हुने भन्ने प्रतिस्पर्धा बढ्दै गयो। बाहिर एक रहेको सन्देश दिन खोजे पनि भित्रभित्र आपसी टकराव र स्वार्थ झांगिँदो थियो,’ आचार्य भन्छन्, ‘त्यही कुरा आज आएर विस्फोट भयो।’

सुशील कोइरालाको निधनपछि २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भए। २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि वरिष्ठताका आधारमा आएको देउवा नेतृत्वमाथि प्रश्न उठेको थियो। धेरै कांग्रेसीको नजर पुनः कोइराला परिवारतिर जानुपर्ने चर्चा सुरु भयो।

संस्थापन इतर नेताहरू एक हुन् भन्ने चाहना आम कार्यकर्ताको रहेको कोइराला परिवारसँग निकट नेता जीवन परियार बताउँछन्। ‘तर पनि उहाँहरू मिल्न सक्नु भएन,’ शेखरको प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारसमेत रहेका परियार भन्छन्।  फुटले आफ्नो टिमलाई केही प्रभाव पर्ने उनको भनाइ छ। ‘कोइराला परिवारको विभाजन नौलो होइन। कार्यकर्ताको चाहानाविपरीत अहिले पनि विभाजन आयो,’ उनी भन्छन्, यसले टिममा सामान्य प्रभाव पार्छ।’अन्नपुर्णपोष्ट बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार