देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसका कुन तहका उम्मेदवारलाई कसले दिन्छ टिकट ?

0

काठमाडौँ – स्थानीय चुनावलाई नजिकिंदै गर्दा सबैदलका राजनितिक दलका कार्यकर्ताहरुको ध्यान टिकटतिरै केन्द्रित रहेको छ । यसैक्रममा नेपाली कांग्रेसले घरघरजाउँ काँग्रेस जिताउँ अभियाननै सञ्चालन गरेको छ ।

कांग्रेसको विधानमा उल्लेख भए अनुसार उम्मेदवार छनौट गर्दा सम्बन्धित स्थानीय तहको कार्यसमितिबाट एकै पदमा एकभन्दा बढी आकांक्षी भएको अवस्थामा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र अर्को तहबाट उम्मेदवार चयन र मनोनयन गर्ने व्यवस्था छ ।

कुन पदको उम्मेदवार चयन कुन तहबाट कसरी हुन्छ ?

वडाअध्यक्ष र सदस्य

काँग्रेसको गाउँ, नगर वडाको अध्यक्ष र सदस्य पदकालागि वडा कार्यसमितिले एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसरी सिफारिस गरेको नाममा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गाउँ/नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ । वडाबाट प्राप्त नामलाई गाउँ/नगरपालिकाले आफ्नो राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई लेखी पठाउनुपर्नेछ ।

त्यसपछि प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो राखेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनेछन् । प्राप्त नामहरूमाथि प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्नुपर्नेछ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयनका लागि कार्यसमितिले योग्यता पुगेकामध्येबाट एक महिलासहित ३–३ जना उम्मेदवारको नाम प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई जानकारी गराएर जिल्ला कार्यसमितिलाई लेखी पठाउनेछन् । प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको हकमा जिल्ला कार्यसमिति समक्ष लिखित राय राख्नेछन् ।

त्यसरी प्राप्त रायको आधारमा जिल्ला संसदीय समितिले सर्वसम्मत नभए बहुमतको प्रक्रियाबाट निर्णय गरी जिल्ला कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा र मनोनयन दर्ता गराउनुपर्नेछ ।

नगर/उपमहानगरपालिका प्रमुख र उपप्रमुख

नगर/उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा सम्बन्धित कार्यसमितिले सबैभन्दा पहिले एक महिलासहित बढीमा तीन जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछन् । ती नाममाथि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले राय राख्नेछन् । ती रायसमेत समेटेर जिल्ला कार्यसमितिले आफ्नो राय राखेर प्रदेश कार्यसमितिसमक्ष सिफारिस गरी पठाउनुपर्नेछ । त्यसरी प्राप्त नाममा प्रदेश संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा गराई मनोनयन दर्ताको व्यवस्था गर्नुपर्ने विधानले व्यवस्था गरेको छ ।

महानगरपालिका प्रमुख र उपप्रमुख

महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा भने निर्णयको अधिकार केन्द्रीय कार्यसमितिसँग हुने व्यवस्था छ । महानगर कार्यसमितिले सिफारिस गरेका एक महिलासहित तीन जनाको नाममाथि प्रदेश कार्यसमितिले आफ्नो राय राखेर केन्द्रमा पठाउनेछन् ।

त्यसरी प्राप्त नाममाथि सर्वसम्मत नभए बहुमतबाट केन्द्रीय संसदीय समितिले निर्णय लिनुपर्नेछ । त्यो निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने तथा मनोनयन गराउनुपर्ने काँग्रेसको विधानमा व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार