देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको तल्ला तहको अधिवेशन फेरि सर्ने

0

काठमाडौं – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन फेरि सर्ने निश्चित भएको छ । सबैभन्दा तल्लो तह ६७४३ वडामा १२ साउनमा एकसाथ अधिवेशन गर्ने कार्यतालिका छ । तर, त्यसका लागि न मतदाताको टुंगो लागेको छ, न त निर्वाचनको कुनै तयारी नै अघि बढेको छ । केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म कसरी निर्वाचन गर्ने ? भन्ने निर्वाचन निर्देशिकासमेत जारी गर्न सकेको छैन ।

जिल्ला–जिल्लामा निर्वाचन समितिका प्रतिनिधि पुगेर ती प्रतिनिधिले पुनः वडा–वडामा निर्वाचनको व्यवस्था मिलाउनुपर्ने हुन्छ । शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसे पनि निर्वाचनबारे व्यवस्था गर्न तयार गरिएको निर्देशिका पारित हुन सकेन । बैठकले निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।

निर्देशिकालाई अन्तिम रूप दिनै केही दिन लाग्ने भएकाले वडा तहको अधिवेशन सर्ने करिब–करिब निश्चितजस्तै भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘बैठकमा तल्ला तहको अधिवेशन गर्न व्यावहारिक कठिनाइ हुनेबारे छलफल भयो । तर, अहिले मिति सारिएको छैन । फेरि पनि तोकिएको मितिमा तल्ला तहको अधिवेशन गर्न सक्ने अवस्था देखिएको छैन,’ डा. महतले नयाँ पत्रिकासँग भने, ‘मलाई लाग्छ, अन्तिम समयमा केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर तल्ला तहको मिति मात्रै सार्नुपर्ने स्थिति आउन सक्छ ।’

सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मुखमा सरकारको नेतृत्व गर्नुपर्ने थप जिम्मेवारीको असर महाधिवेशनको कार्यतालिकामा परेको छ । देउवाले निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदा र क्रियाशील सदस्यताको विवादका सम्बन्धमा छलफल गर्न यसअघि मंगलबारकै लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । तर, सोमरबारै सर्वोच्च अदालतको परमादेशले देउवा प्रधानमन्त्रीमा नियुक्ति हुने प्रक्रिया अघि बढेपछि रोकिएको बैठक चार दिनपछि शुक्रबार बसेको हो ।

नेताहरूले सरकारको नेतृत्व गर्दैगर्दा त्यसले महाधिवेशनको तयारीमा असर नपर्ने भने पनि देउवालाई एकैपटक दुई जटिलता सामना गर्न चुनौतीपूर्ण देखिएको छ । प्रधानमन्त्री देउवाले साउन अन्तिम साताभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । जब कि १६–१९ भदौमा हुने महाधिवेशनको तयारी गर्नुपर्ने समय पनि त्यही नै हो ।

सरकार सञ्चालन, कोभिड महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारीमा भएको ढिलासुस्तीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको हो । केन्द्रीय महाधिवेशनका लागि ४७ दिन मात्रै हुँदा देखिएका क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकाको मस्यौदा र अन्य पूर्वतयारीका हिसाबले के तोकिएकै मितिमा महाधिवेशन हुन सक्ला त भन्ने प्रश्न सबैतिर खडा भएको प्रवक्ता विश्वप्रकाश शर्मा स्विकार्छन् । ‘यो प्रश्नमाथि शुक्रबारको बैठकमा स्वाभाविक रूपमा छलफल भयो,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने, ‘तर, हामी अब महाधिवेशन सार्ने पक्षमा छैनौँ । सकेसम्म तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति सबै नेताहरूबाट व्यक्त भएको छ ।’ उनले सरकारको नेतृत्व र सरकार सञ्चालनकै विषयले भने महाधिवेशनको कार्यतालिकामा कुनै प्रभाव नपर्ने दाबी गरे । ‘सरकारको नेतृत्वमा हुने नेताहरूलाई महाधिवेशनको तयारीको भार दिइन्न । त्यसले गर्दा त्यसले महाधिवेशन प्रभावित हुँदैन,’ उनले भने । बैठकमा महाधिवेशनमा वडा तहबाट समावेशी–समानुपातिकतर्फ प्रतिनिधि छनोट हुने सन्दर्भमा विधानमा भएका व्यवस्थाको पुनव्र्याख्या गर्नेबारे छलफल भएको उनले बताए ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले भने अहिलेसम्मको तयारीका हिसाबले तल्ला तहको अविधेशन सर्ने निश्चितजस्तै देखिएको बताए । ‘तल्ला तहको अधिवेशन सर्ने अब निश्चितजस्तै छ, त्यसको असरले केन्द्रीय महाधिवेशन पनि सर्न सक्छ,’ देउवानिकट नेता विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘तल्ला तहको अधिवेशन दुई सातासम्म सर्न सक्छ, केन्द्रीय महाधिवेशन पनि सरेर भदौ मसान्तसम्म पुग्न सक्छ ।’

केन्द्रीय क्रियाशील छानबिन समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि तल्ला तहको अधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भइसकेको बताउँछन् । ‘क्रियाशीलको विवाद अझै समाधान भइसकेको छैन, नौ लाख क्रियाशील सदस्यको नामावलीमा सभापतिज्यूले हस्ताक्षर गरिसकेपछि त्यसलाई लिएर निर्वाचन समिति वडा–वडामा पुग्नुपर्छ, त्यसैले अहिले तोकिएकै मितिमा तल्ला तहको अधिवेशन हुन सम्भव देखिँदैन,’ पौडेलले नयाँ पत्रिकासँग भने ।

छानबिन समितिले अहिलेसम्म ७५ जिल्लाको कागजात मात्रै हेरेको छ । ढिला गरी सदस्यता बुझाएका सप्तरी र बाराको सदस्यता छानबिन गर्नै बाँकी छ, जहाँका नेता–कार्यकर्ता ६ दिनदेखि क्रियाशीलमा धाँधली भएको भन्दै केन्द्रीय कार्यालयमा धर्नारत छन् । तर, छानबिन समितिका संयोजक रमेश लेखकले भने केही दिनभित्रै समितिले प्रतिवेदन बुझाउने बताए । ‘७५ जिल्लाका कागजात हेरिसक्यौँ । अब बारा र सप्तरीको कागजात हेर्न बाँकी छ । त्यसपछि हामीले अन्तिम प्रतिवेदनको तयारी गर्छौँ । सभापतिसमक्ष प्रतिवेदन बुझाउनका लागि सम्माननीय प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग समय मागेका छौँ । भोलि वा पर्सि जुन दिन समय हुन्छ, हामी प्रतिवेदन बुझाउँछौँ,’ लेखकले भने । लेखकका अनुसार सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनमै ढिलाइ भएका कारण क्रियाशील छानबिनमा पनि ढिलाइ भएको हो । ‘बारा र सप्तरीमा पार्टीको आन्तरिक समायोजनमै समस्या भएका कारण क्रियाशीलको प्रक्रिया नै ढिला भयो । त्यसका कारण त्यहाँको कागजात हामीले भर्खर पाएका छौँ । त्यहाँका बाहेक सबै जिल्लाको कागजात हामीले हेरिसकेका छौँ,’ उनले भने ।

शुक्रबारको बैठकमा समयमै महाधिवेशन गर्ने गरी सबै तयारी अघि बढाउने छलफल भएको उनले बताए । बैठकमा केही नेताहरूले महाधिवेशन सार्नुको विकल्प नभएको भनेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिहीबार नै तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने भन्दै सामूहिक रणनीति लिएर बैठकमा सहभागी भएको थियो । जसले गर्दा महाधिवेशन सार्नेबारे छलफल केन्द्रित हुन नपाएको एक नेताले बताए ।

‘बैठकमा त्यसबारे सबैजसो नेताहरूले बोल्नुभयो । अन्तिमसम्म प्राथमिकताका साथ महाधिवेशनको तयारीमा लाग्ने र समयमै गर्ने कोसिस गर्ने, केही गरी नसकिएको अवस्थामा त सार्नैपर्ने हुन्छ भन्ने साझा बुझाइ बनेको छ,’ ती नेताले भने ।

बैठकमा क्रियाशील छानबिन समिति, निर्वाचन समिति र समायोजन समितिले गरेका काम र प्रगतिबारे छलफल भएको थियो । देउवा प्रधानमन्त्री भएर शुक्रबारै सरकारीनिवास बालुवाटार सरेका हुन् । उनी सरेकै दिन कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बसेको हो ।

जिल्ला सभापतिहरूले पनि वर्षाका कारण मध्य असारमा अधिवेशन गर्न समस्या हुने गुनासो गरेका छन् । केन्द्रले जस्तोसुकै निर्णय गरे पनि तल्ला तहको अधिवेशन सार्नैपर्ने अवस्था सिर्जना भएको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले बताए । ‘यसपटक वेलैमा महाधिवेशन गर्न नसकिएकै हो । अब अहिलेसम्म नभएपछि वर्षा, बाढीपहिरो र महामारीलाई छलेर केही समय लिएरै महाधिवेशन गर्नुपर्छ,’ केसीले भने, ‘तर, महाधिवेशनबाट अर्को चार वर्षमा महाधिवेशन गरिसक्छु भन्ने व्यक्तिलाई चुन्नसक्नुपर्छ ।’ उनले अधिकांश जिल्ला सभापतिहरूको उस्तै धारणा रहेको सुनाए ।

छानबिन समितिका सदस्य घिमिरेलाई दुव्र्यवहार

क्रियाशील सदस्यताको विवादलाई लिएर आक्रोशित सिन्धुपाल्चोकका नेता–कार्यकर्ताले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि दुव्र्यवहार गरेका छन् । गौशालास्थित धर्मशालामा सदस्यता छानबिन गरिरहेको छानबिन समितिका सदस्य घिमिरेमाथि सिन्धुपाल्चोकको सदस्यताको विवादलाई लिएर त्यहाँका नेता–कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । हातपात गर्नेहरू कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत समर्थक भएको स्रोतको दाबी छ । सिन्धुपाल्चोकमा कांग्रेसको आन्तरिक संगठन समायोजनदेखिकै विवाद छ । छानबिन समितिले सिन्धुपाल्चोकमा देखिएको विवाद मिलाउन नसक्ने भन्दै १३औँ महाधिवेशनकै सदस्यताका आधारमा १४औँ अधिवेशन गर्ने निर्णय गरेको छ । त्यही विषयलाई लिएर नेता घिमिरेमाथि हातपातको प्रयास भएको हो ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत १२ साउनमा वडा तहको अधिवेशन गर्ने कार्यतालिका छ । त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा क्षेत्र एवं एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ भने १ र २ भदौमा सात प्रदेशको अधिवेशन र १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । नयाँ पत्रिका बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार