देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विवाद अन्त्यका लागि देउवाले गरे पौडेल र सिटौलासँग छलफल

0

(काठमाडौं) – पछिल्लो समय नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्त्य हुने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच विवाद अन्त्य गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि असन्तुष्ट बनेका वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला लगायत नेतासँग सहमतिका लागि सभापति देउवाले आइतबार बोलाएका थिए । काठमाडौंको बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा तीन नेताहरुबीच पार्टीभित्र देखिएको विवाद हल गरेर जाने विषयमा छलफल भएको हो ।

सभापति देउवाले एकलौटी ढंगबाट पार्टी चलाएको, केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको मिति कार्यतालिका सहित सार्वजनिक गरेपछि नेता पौडेल लगायत असन्तुष्ट छन् । पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन प्रयोजनका लागि विधानका धारा निलम्बन गर्ने, तरुण दलको म्याद थप्ने निर्णयका विरुद्ध पौडेलले आफू निकटका जिल्ला सभापतिहरुसँग पनि परामर्श गरेका थिए ।

वरिष्ठ नेता पौडेल सोमबार भारत भ्रमण जाँदैछ्न् । उनी स्वदेश फर्केपछि फेरि बैठक बसेर समस्या समाधान गर्ने पक्षमा नेताहरु रहेको स्रोतले जनाएको छ । सो बिचमा साझा धारणा बनाउन थप गृहकार्य गर्ने भएको छ ।

सहमतिका लागि कार्यदल बनाएर पटकपटक छलफल गरेपनि निचोडमा पुग्न सकेको छैन । कार्यदलबाट निचोड नआएपछि पूर्वमहामन्त्री सिटौलले सीधै सभापति देउवासँग वार्ता गर्नुपर्ने अडान राख्दै आएका थिए ।

पौडेल समूहले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ गतेबाट निरन्तर बहिष्कार गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकले १४ औँ महाधिवेशन मिति तोक्ने लगायतका निर्णय गरेपछि त्यसको खारेजीको माग राख्दै आएका नेता पौडेल र सिटौलालाई सहमति ल्याउन भन्दै सभापति देउवाले दुबै पक्षलाई वार्ताका लागि बोलाएका हुन् ।

यसअघि सभापति देउवाले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे लगत्तै विवाद उत्पन्न भएपछि देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमानसिंहको संयोजकत्वमा वार्ता टोली बनेको थियो । उक्त टोलीले पनि निष्कर्ष निकाल्न नसकेपछि पूर्वमहामन्त्री सिटौलाले सभापति देउवाबाटै सिर्जना भएको समस्याको समाधानका लागि पनि देउवासँगै बस्नुपर्ने अडान राख्दै आएका थिए ।

सिटौलाकै अडान अनुसार आइतबार देउवा, पौडेल र सिटौलबीच वार्ता भएको थियो । नेताहरुबीच २ घण्टा चलेको छलफलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, सिटौलाका साथै पूर्णबहादुर खड्का र रमेश लेखक सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार