देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसमा गोलमाल गुट, सबै तितरबितर

0

काठमाडौं – कांग्रेस सभापति पदमा शनिबार ६ नेताले मनोनयनपत्र दर्ता गरेका छन्। मुख्यगरी दुई गुट देखिँदै आएकामा १४औं महाधिवेशनमा चार प्यानल बनेको छ। जसकारण धेरै नेता गुट परिवर्तन गरी उम्मेदवार बनेका छन्।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रूपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन्। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल भने नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटेका छन्। कोइराला परिवारको ‘एकता’ छिन्नभिन्न भएको छ।

निकै चासोका साथ हेरिएको दुई महामन्त्री पदमा डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की उम्मेदवार बनेका छन्। डा. महत र पौडेल देउवा, शर्मा सिंह, डा. रिजाल र थापा डा. कोइराला अनि डा. कार्की निधिको प्यानलबाट अघि सरेका हुन्। देउवा पक्षबाट यसअघि महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदको नाम चर्चामा थियो। तर, कृष्णप्रसाद सिटौलासँग तालमेलसँगै डा. महत र पौडेलले बाजी मारेका हुन्।

मनोनयन दर्तापछि निवर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितको समुह। तस्बिर : अशोक दुलाल

देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन्। सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन्।

देउवाले कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने आफ्नो एउटै लक्ष्य रहेको बताए। ‘यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु’, देउवाले मनोनयन दर्ताका क्रममा भने।

डा. कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र डा. चन्द्र भण्डारीले मनोनयनपत्र दर्ता गरेका छन्। सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरी उम्मेदवार छन्।

सिंहले उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्मालाई अघि सारेका छन्। उनले आफ्नो प्यानल भने पूरा गरिसकेका छैनन्। यस्तै, निधिको टिमबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा डा. कार्कीबाहेक अरूको नाम खुलाइएको छैन।

निधि १३ औं महाधिवेशनमा देउवा समूहबाट उपसभापति बनेका थिए। सभापतिका अर्का प्रत्याशी गुरुङ पनि देउवा समूहबाटै केन्द्रीय सदस्य बनेका थिए।

सिटौलासँगको सहमतिले धक्का !
देउवा समूहबाट महिना दिनदेखि आफैं पद तोक्दै उम्मेदवारी घोषणा गर्दै आएका नेता सिटौलासँगको सहमतिका कारण पछि हट्न बाध्य भएका छन्। उम्मेदवारी दर्ता गराउने दिनको अघिल्लो मध्यरात मात्रै देउवा–सिटौला सहमति भएको हो। देउवाले आश्वासन दिएर आफ्नो एकल नेतृत्वका लागि अरूको राजनीतिलाई तिलाञ्जली दिएको उनीनिकट केही नेताको गुनासो छ। एक नेताले भने, ‘देउवा आफैंले चाहेको भन्दा पनि यतिबेला भिन्न संरचना बनेको छ। उनलाई जित्नका लागि अहिलेको समयमा सिटौलाको आवश्यकता पर्ने थिएन।’

विभिन्न गुट र उपगुटको प्यानल बन्नुलाई स्वाभाविक ठान्छन् केन्द्रीय सदस्यका प्रत्याशी एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत। महाधिवेशन र निर्वाचनका बेला बन्ने प्यानलले पार्टीलाई खासै असर नपार्ने नेता बस्नेत बताउँछन्। ‘विचार मिल्नेहरूको समूह बन्ने र त्यो व्यक्तिगत इच्छा र आकांक्षामा पनि भर पर्छ’, उनी भन्छन्, ‘नेपाली कांग्रेस भनेको समुद्र हो। कुन खोला र खोल्छा कहाँ मिसिन्छन् भन्ने कुराले अर्थ राख्दैनन्। जुन खोला जहाँबाट बगे पनि मिसिने त समुद्रमा नै हो। अहिले कहीँ न कहीँ स्थान पाउन प्यानल र गुट परिवर्तन गरे पनि अन्तिममा मिल्नै पर्छ। नमिली सुख्खै छैन। यसले पार्टीलाई कुनै असर गर्दैन।’

मनोनयन दर्तापछि शेखर कोइरालाको समुह। तस्बिर : सीताराम गुरागार्ईं

सभापतिका प्रत्याशी गुरुङ प्यानल निर्माणले स्वार्थ समूहबीचको रस्साकस्सी चलिरहेको बताउँछन्। ‘पहिलो कुरा त भागबन्डा र गुटबन्दीको अन्त्य गर्नुपर्छ। भागबन्डा र गुटबन्दीले नै नेपाली कांग्रेसलाई अल्मल्याइरहेको छ’, उनी भन्छन्, ‘त्यसैले नेपाली कांग्रेसलाई विधानअनुसार चलाउनुपर्छ। विधानअनुसार पार्टी चल्यो भने गुटबन्दी र भागबन्डाको अन्त्य हुन्छ।’

कोइराला परिवार छिन्नभिन्न
कोइराला परिवारका तीन नेताले २०७४ माघ २ मा कांग्रेसमा ‘विरासत’ फर्काउने उद्घोष गरेका थिए। डा. शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाबीचको छलफल पुनः कोइराला परिवारको शक्ति फर्काउने निष्कर्षमा टुंगिएको थियो। त्यसपछि पनि यी तीन नेताले विभिन्न कार्यक्रममा कोइराला परिवार एक रहेको बताउन छाडेनन्। २०७५ भदौ १० गते विराटनगरमा एउटै माला पहिरिएर एक भएको सन्देश दिए। त्यतिबेला सुजाताले भनेकी थिइन्, ‘कसैले टाउको दुखाउनु पर्दैन। हामी तीन एकै थियौं। एकै छौं र एक रहनेछौं।’

कोइराला परिवारका तेस्रो पुस्ताका शेखर, सुजाता र शशांकले धेरै पटक एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक गरेर एक रहेको सन्देश दिएका थिए। जसमा सुजाताको पहल मुख्य थियो। तर, उनै सुजाता शनिबार सिंहको प्यानलबाट उम्मेदवार बनेकी हुन्। जो यसअघि पटकपटकका बैठक, छलफल र भेटमा शेखरलाई सभापतिमा प्रस्ताव गर्थिन्।

शेखरको प्यानल उम्मेदवारी दर्ता गर्न जानुअगावै सिंहले सभापति, सुजाताले उपसभापति र शर्माले महामन्त्रीमा उम्मेदवारी दिइसकेका थिए। उम्मेदवारी दिएर फर्किंदै गर्दा सुजाताले भनिन्, ‘कांग्रेसको रूपान्तरण प्रकाशमानबाट मात्रै सम्भव छ।  महिलालाई पनि सम्मान गर्नुहुन्छ। त्यसैले उहाँको टिमबाट उम्मेदवारी दिएकी हुँ।’

इतिहास हेर्दा कांग्रेसमा की वंश परम्परा र की वरिष्ठताका आधारमा नेतृत्व चयन हुने गरेको छ। लामो समयसम्म कांग्रेसमा कोइराला परिवार नेतृत्वमा रह्यो। विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ गरी कोइरालाहरूले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे। सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा वरिष्ठताका आधारमा नेतृत्वमा पुगे।

कोइराला परिवार छिन्नभिन्न भएको यो पहिलो पटक भने होइन। २००९ जेठ १०–१३ सम्म जनकपुरमा भएको पाँचौं महाधिवेशन विश्वेश्वरप्रसाद र मातृकाबीच विवाद हुँदा पार्टी नै फुटेको थियो। यो महाधिवेशनबाट विश्वेश्वरप्रसाद सभापति चयन भए। पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा सम्पन्न महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेरलगायत नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो। २०५३ सालमा नवौं महाधिवेशनमा पनि कोइराला परिवार एक हुन सकेनन्। गिरिजाप्रसाद कोइरालाले विजयकुमार गच्छादारलाई केन्द्रीय सदस्यमा समर्थन गरेपछि विश्वेश्वरपुत्र प्रकाशले बागी उम्मेदारी दिएर पराजित भए। २०४६ सालको आन्दोलनमा परिवर्तनविरोधी अभिव्यक्ति दिएपछि नै प्रकाश कांग्रेस राजनीतिमा जम्न नसकेका हुन्।

कोइराला परिवार फुट्नु नौलो नभएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। ‘कोइराला परिवारको फुट पहिलो पनि होइन र अन्तिम पनि होइन,’ उनी भन्छन्, ‘तर यो महाधिवेशनमा भएको विभाजनले विशेष अर्थ राख्छ। कांग्रेस पार्टीका लागि यो राम्रो भएन।’

व्यक्तिगत महŒवाकांक्षाका कारण तीन नेताले एक अर्कालाई स्विकार्न नसकेको उनको भनाइ छ। ‘शेखर, सुजाता र शशांक तीनै जनामा पछिल्लो समय को सिनियर हुने भन्ने प्रतिस्पर्धा बढ्दै गयो। बाहिर एक रहेको सन्देश दिन खोजे पनि भित्रभित्र आपसी टकराव र स्वार्थ झांगिँदो थियो,’ आचार्य भन्छन्, ‘त्यही कुरा आज आएर विस्फोट भयो।’

सुशील कोइरालाको निधनपछि २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भए। २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि वरिष्ठताका आधारमा आएको देउवा नेतृत्वमाथि प्रश्न उठेको थियो। धेरै कांग्रेसीको नजर पुनः कोइराला परिवारतिर जानुपर्ने चर्चा सुरु भयो।

संस्थापन इतर नेताहरू एक हुन् भन्ने चाहना आम कार्यकर्ताको रहेको कोइराला परिवारसँग निकट नेता जीवन परियार बताउँछन्। ‘तर पनि उहाँहरू मिल्न सक्नु भएन,’ शेखरको प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारसमेत रहेका परियार भन्छन्।  फुटले आफ्नो टिमलाई केही प्रभाव पर्ने उनको भनाइ छ। ‘कोइराला परिवारको विभाजन नौलो होइन। कार्यकर्ताको चाहानाविपरीत अहिले पनि विभाजन आयो,’ उनी भन्छन्, यसले टिममा सामान्य प्रभाव पार्छ।’

युवाबीच तीव्र प्रतिस्पर्धा
सभापति र उपसभापतिमा पाका नेताहरूको उम्मेदवारी परे पनि महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा युवाबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। सभापतिमा उम्मेदवारी दर्ता गरेका गुरुङ मुलुक र पार्टीमा परिवर्तन चाहने हो भने नयाँ पुस्ताले आँट गर्नै पर्ने बताउँछन्। ‘पार्टीमा साँच्चै परिवर्तन ल्याउने हो भने सभापति पदमै उम्मेदवारी दिनुपर्छ’, उनी भन्छन्, ‘मैले चालेको कदम नयाँ पुस्ताका लागि प्रेरणा पनि हो। अरू पार्टी र पेसाकर्मीका साथीहरूका लागि म प्रेरणाको स्रोत बन्न सक्छु।’ केन्द्रीय सदस्यका प्रत्याशी बस्नेत हैसियत नपुगेकै कारण माथिल्लो पदमा उम्मेदवारी दिन युवा नेता हिचकिचाएको बताउँछन्। माथिल्लो पदमा पुग्न आँट मात्रै गरेर हुँदैन, त्यसका लागि औकात पनि पुग्नुपर्ने उनको जिकिर छ। ‘धेरै युवाको केन्द्रीय सदस्यमा उम्मेदवारी परेको देख्दा उनीहरूको योग्यता र क्षमता पुगेको रहेनछ भन्ने बुझिन्छ। महाधिवेशन प्रतिनिधिमा युवाहरूको उपस्थिति ठूलो छ। तर, माथिल्लो पदहरूमा उनीहरूले आँट गरेको देखिँदैन’, उनी भन्छन्।

कान्छी केन्द्रीय सदस्य हुने होडमा रहेकी रामेछापकी विनिता खड्का ४० वर्षभन्दा कम उमेर समूहका ३५ प्रतिशत महाधिवेशन प्रतिनिधि आएको बताउँछिन्। ‘कांग्रेसले सबै उमेर समूहलाई स्थान दिन्छ भन्ने यसबाट प्रमाणित हुन्छ। अग्रजहरूले सँगाल्नु भएको अनुभव, योगदान र युवाहरूको जोस जाँगरलाई मिश्रित गरेर लैजानु पर्छ’, २६ वर्षीया खड्का भन्छिन्, ‘कांग्रेसमा सबैले स्थान पाउँछन् भन्ने कुरालाई स्थापित गर्न पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।’

सिटौला र पौडेलको उम्मेदवारी आएन 
यो महाधिवेशनमा वरिष्ठ नेता पौडेल र सिटौलाले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। पौडेल उम्मेदवारी दर्ता गर्नै गएनन्। सिटौला देउवासँगै आए पनि उम्मेदवारी दर्ता गराएनन्। पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरे। ‘पार्टीभित्र जुन परिस्थिति निर्माण भइरहेको छ। त्यो सन्दर्भमा मैले १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु’, पौडेलले प्रेस विज्ञप्तिमा भनेका छन्। सिटौलाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अब मैले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिन्न। मैले केही दिनदेखी भन्दै पनि आएको छु। मसँगै हिँडेका युवा साथीहरूलाई अगाडि सार्छु। प्रदीप, उमाकान्तजी जस्ता ऊर्जावान् युवालाई अघि सारेको छु। म अब सडकबाटै पार्टीलाई सहयोग गर्छु।’ अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार