देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

0

काठमाडौं – कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ।

महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि यसो गर्नुपरेको हो।’ पदाधिकारीबीच सहमति गरी विधान संशोधनलाई पछि सारिएको शर्माले बताए।

नेता डा. रामशरण महतले महाधिवेशनको तयारीका लागि समय कम भएकाले यस्तो निर्णय गर्नुपरेको बताए। ‘कतिपय जिल्लामा क्रियाशील विवादका कारण भित्री रूपमै समस्या छ’, नेता डा. महतले भने, ‘त्यसकारण पनि राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे बृहत् छलफल गर्ने प्रस्ताव आयो। स्वीकार गर्नुको विकल्प थिएन।’

कांग्रेसले यसअघि नीति र कार्यक्रम पारित गरी नेतृत्व चयन गर्दै आएको थियो। तर, यसपटक महाधिवेशन सम्पन्न गर्न समय अभाव हुने भन्दै कांग्रेसले नेतृत्व चयनमा मात्र केन्द्रित हुने निर्णय गरेको हो। बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। प्रदेशस्तरीय अधिवेशन गर्न संयोजक तोकेको छ। कांग्रेसले पाँचौँ पटक मिति सारी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन तोकेको छ।

‘हामीसँग समय अभाव भयो। नत्र केन्द्रीय कार्यसमितिले नै बिरोध गथ्र्यो’, अर्का नेता धनराज गुरुङले भने, ‘नयाँ निर्वाचित समितिले नयाँ तौरतरिकाअनुसार नीति तथा कार्यक्रम माथि छलफल गर्नेछ। यो अनौठो कुरा हैन।’

पदाधिकारी थप्न प्रस्ताव 
बैठकमा पदाधिकारी थप गर्नुपर्ने प्रस्तावमा सभापति देउवाले समर्थन जनाएका छन्। केन्द्रीय सदस्य डा. गोविन्द भट्टराईले सहमहामन्त्रीको संख्या बढाउनुपर्ने प्रस्ताव लगेका थिए। ‘मेरो त यो कुरामा समर्थन छ’, देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर रामचन्द्र पौडेल मान्नुहुन्न।’

संशोधित विधानअनुसार पदाधिकारीको संख्या १४ छ। विधानले सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष एक जना निर्वाचित हुने व्यवस्था गरेको छ।

प्रधानन्यायाधीशबारे छलफलमा रोक 
नेता अर्जुननरसिंह केसीले बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा छलफल अघि बढाउन सभापति देउवाले नदिएको जनाए। ‘अदालतमा जुन किसिमले घटनाहरू अघि बढेका छन्, त्यसका विषयमा कांग्रेस पनि बोल्ने बेला भएको छ, पूर्वन्यायाधीशहरूको एउटा समिति बनाएरै भए पनि न्यायालयको समस्या हल गर्न लागौं, मुकदर्शक नबनौंभन्दा सभापतिले न्यायालयको विषयमा चर्चा नगरौं भनेर प्रसंग अगाडि सार्नै दिनुभएन’, नेता केसीले भने।

नेता डा. रामशरण महत र गगन थापाले अदालतको बारेमा चुप बस्न नहुने बताएका थिए। अदालतले नै विवाद समाधान गर्नुपर्नेमा देउवा अडिग रहेको अर्का नेता एनपी साउदले बताए।

प्रवक्ता शर्माका अनुसार महाधिवेशन समन्वय गर्न प्रदेश १ मा कृष्णप्रसाद सिटौला तोकिएका छन्। प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन्। प्रदेश अधिवेशन प्रदेशका राजधानीमा तोकिएको छ। उक्त सहमतिलाई बैठकले अनुमोदन गरेको छ।

मूल आयोजक समितिको संयोजक देउवा 
बैठकले महाधिवेशन तयारीका लागि सभापति देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, संघीय संसद्का सदस्य, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरू सदस्य रहने प्रवक्ता शर्माले बताए।

बैठकले अन्य विभिन्न विषयगत समिति र उपसमितिसमेत गठन गरेको छ। भोजन तथा आवास व्यवस्थापन समितिमा सुरेन्द्रराज पाण्डे, अर्थ संकलन समितिमा ज्ञानेन्द्रबहादुर कार्की, विदेशी पाहुना स्वागत समितिमा डा. प्रकाशशरण महत, प्रचार–प्रसार समितिमा शर्मा संयोजक तोकिएका छन्।

स्वास्थ्य समितिमा मोहनबहादुर बस्नेत र सांस्कृतिक समितिमा सीता गुरुङ संयोजक छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापतिलाई जिम्मा दिइएको छ। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार