देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसमा संसदिय दलको नेता फेर्न थापाको दौडधुप

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय दलको नेता परिवर्तन गर्ने कसरतमा लागेका छन् ।

मुलुक र जनताको भविष्यकोलागी वर्तमान नेतृत्वलाई फेरि पनि प्रधानमन्त्री बनाउने गल्ती गर्न नहुने भन्दै संसदीय दलको नेता परिवर्तन गर्ने कसरतमा थापा लागी परेका हुन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भएको समझदारीअनुसार पाँचवर्षे कार्यकालको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला महामन्त्री थापाले वैधानिक बाटोबाटै दलको नेतृत्व बदल्न कसरत थालेका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार बन्ने संयुक्त सरकारको नेतृत्वका लागि संसदीय दलको नेता हुनुपर्दैन तर कांग्रेसमा केही अपवादबाहेक संसदीय दलकै नेतालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने परम्परा छ ।

आगामी ०८४ को संसदीय चुनावमा लोकप्रिय नारा दिएर उदाएका राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न पनि पार्टीको मूल नेतृत्व परिवर्तन हुनुपर्ने मुद्दा बोकेर उनी भदौदेखि देशव्यापी अभियानमा जाने तयारीमा छन् ।

देउवालाई हटाउन नेता शेखर कोइराला तयार भए थापाले पछि हट्ने संकेत गरिरहेका छन् । कोइराला अघि सर्दा संस्थापन इतरपक्षको मत एकढिक्का हुने र संस्थापन पक्षका सांसद तान्न पनि सहज हुने बुझाइ थापा र उनको टिमको छ । शेखर उम्मेदवार बन्दा संस्थापन पक्षबाट १३ सांसद मात्रै तान्दा पुग्ने उनको आकलन छ ।

सत्तारूढ गठबन्धनका तीन दलबीच भएको समझदारी कार्यान्वयन भएमा अबको साढे एक वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्नेछन् ।

कांग्रेसले प्रधानमन्त्री पाउने बेलामा सके आफैं, नसके आफु सरहको व्यक्तिलाई अघि बढाउने थापाको दाउ छ । आफु बाहेकको व्यक्तिकोबारेमा भने थपाले केहि खुलाएका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार