देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले बनायो ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति, को-को समेटिए

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

१४औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि सभापति देउवाको निर्देशनमा महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गरेका नामलाई बैठकले अनुमोदन गरेको थियो ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य रहेका छन् ।

त्यस्तै गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता कार्यसम्पादन समितिको पदेन सदस्य हुन्छन । कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता हाल सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ ।

महाधिवेशनबाट पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भए पनि यो अझै अधुरो छ । ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरेका छन् । थप २० केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छ । केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्षको चयन र प्रवक्ता तोक्न पनि बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार